चिनियाँ जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगमस्थलनजिक ठूलो ‘ब्यारियर लेक’ अर्थात् नदी थुनिएर कृत्रिम ताल बनेको जनाएको छ ।
सिसिटीभीका अनुसार आज बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको छ।
तालबाट पानी बाहिरिन थाले पनि तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा थपिने अनुमान गरिएको छ। यसले ताल फुट्ने उच्च जोखिम रहेको बताइन्छ ।
मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको तथा सम्भावित ताल फुट्ने अवस्थाको पूर्वानुमान गर्न बाढीको अनुगमन र विश्लेषण गरिरहेको जनाएको छ।
सम्भावित विपद्का क्रममा उद्धार तथा राहतका लागि आवश्यक सहयोग उपलब्ध गराउने तयारीसमेत भइरहेको छ ।
नेपाल–चीन सीमामा नेपाली क्षेत्रको रसुवा-केरुङमा गएको विनाशकारी पहिरोपछि दुवैतिर उद्धार तीव्र पारिएको छ । बाढीले चीनको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रस्थित चिलोङ्ग (केरुङ) बन्दरगाह प्रभावित भएको छ।
हिजो बिहानको भीषण बाढीपछि चिनियाँ अधिकारीहरूले उद्धार तथा राहतका लागि जनमुक्ति सेनासहित विभिन्न निकाय एकसाथ परिचालन गरेका छन् । यता नेपालमा सेना,प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
चिनियाँ जनमुक्ति सेना,उद्धारकर्मी, इन्जिनियरिङ टोली,दूरसञ्चार कम्पनी तथा राहत संस्थाहरूले जनशक्ति, विमान, उपकरण र राहत सामग्रीसहित प्रभावित क्षेत्रमा काम गरिरहेका छन्।
दुवैतर्फ कठिन भौगोलिक अवस्था, निरन्तर वर्षा र थप पहिरो तथा अन्य विपद्को जोखिमका बीच उद्धार कार्य जारी रहेको छ।
बिहीबार बिहानसम्म उक्त विस्फोटक घटनामा चीनतर्फ तीन जनाको मृत्यु भएको छ। चीनमा ५५८ जना अझै बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्। बेपत्तामध्ये २६० जना विदेशी नागरिक रहेको जनाइएको छ।
यता नेपालमा भोटेकोसी बाढीका कारण मृत्यु हुनेको संख्या २७० पुगेको छ। नेपाल प्रहरीका अनुसार चितवनमा मात्रै १०८ जनाको शव फेला परेको छ। त्यस्तै पूर्वनवलपरासीमा ६२, पश्चिम नवलपरासीमा १५, धादिङमा २७ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९ र रसुवामा १७ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार ५२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
त्रिवि शिक्षण अस्पतालमा २६, ट्रमा सेन्टरमा २०, वीर अस्पतालमा २, नर्भिक अस्पतालमा २, मनमोहन अस्पतालमा १ र वीरेन्द्र सैनिक अस्पतालमा १ जनाको उपचार भइरहेको छ।