डडेल्धुरा। डडेल्धुरा जिल्ला खेलकुद विकास समितिका पदाधिकारी तथा सदस्यहरूको पदस्थापन एवं सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ। आइतबार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जगत बहादुर ऐरले पदाधिकारी तथा सदस्यहरुको सपथ गराउनुभएको हो।
समितिको उपाध्यक्ष, कोषाध्यक्ष तथा सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ गराउँदै पदस्थापन गराउनुभएको हो।
अध्यक्ष ऐरबाट सपथ लिने पदाधिकारीहरूमा उपाध्यक्ष दिल बहादुर बोहरा र कोषाध्यक्ष निरन्जन रावल रहनुभएको छ। त्यसैगरी सदस्यहरू लक्षण नेगी, रमेश शाह, किरण ऐर, नरेश भाट, निशा कार्की र हरिकला गुरुङले पनि आजै पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ। अध्यक्ष ऎको सपथ तथा कार्यभार भने गत बैशाखमै भैसकेको थियो।
कार्यक्रमका प्रमुख अतिथि एवं नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मी प्रसाद अवस्थीले मन्तव्य व्यक्त गर्दै डडेल्धुरामा खेलकुदको विकास र विस्तारका लागि स्थानीय तहको सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो।
"खेलकुदले युवाहरूलाई अनुशासित र स्वस्थ बनाउनुका साथै जिल्लाको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्छ," प्रमुख अतिथि अवस्थीले भन्नुभयो, "अध्यक्ष जगत बहादुर ऐरको सक्रियतामा हालै डडेल्धुरामा सफलतापूर्वक सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताले यहाँको खेलकुद क्षमतालाई उजागर गरेको छ। आगामी दिनमा डडेल्धुरालाई खेलकुदको हब बनाउने समितिको लक्ष्यमा हामी काँधमा काँध मिलाएर अघि बढ्न तयार छौँ।"
कार्यक्रममा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी अमर बहादुर ओली, आलिताल गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष बल बहादुर बुढा, जिल्लास्थित सञ्चारकर्मी, खेल प्रशिक्षक तथा खेलाडीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष जगत बहादुर ऐरले डडेल्धुरालाई खेलकुदको हब बनाउन, व्यवस्थित खेल मैदान निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाउन र ऐतिहासिक टुँडिखेललाई अझ उत्कृष्ट मैदानको रूपमा विकास गर्न स्पष्ट बजेट र कार्ययोजनासहित समिति अघि बढेको जानकारी दिनुभयो।