डडेल्धुरा - घरको गरिबी मेटाउने र परिवारको मुहारमा खुसी ल्याउने सपना बोकेर परदेशिनु धेरै नेपालीहरुको बाध्यता हो। तर, कहिलेकाहीँ ती सपना परदेशमै अस्ताउँछन् र घरमा केवल आँसु र चीत्कार मात्र बाँकी रहन्छ। यस्तै हृदयविदारक घटना डडेलधुरा जिल्ला, आलिताल गाउँपालिका–२ गाङ्खेत, तेलिगाउँ निवासी देब दमाईको परिवारमा घटेको छ।
परिवारको बिहान–बेलुकीको छाक टार्ने जिम्मेवारी काँधमा बोकेर भारतको ब्याङ्लोर पुगेका देब दमाईको हृदयघातका कारण असामयिक निधन भएको छ। परदेशमा ज्यान गुमाएका देबको खबर गाउँ पुगेपछि यतिबेला उनको परिवार शोकको सागरमा डुबेको छ। अन्तिम पटक आफ्नो मान्छेको मुख हेर्ने र आफ्नै माटोमा दागबत्ती दिने परिवारको इच्छासमेत चरम गरिबीका कारण बन्धक बनेको छ।
ब्याङ्लोरबाट देबको पार्थिव शरीर नेपालस्थित घरसम्म ल्याउनका लागि कम्तीमा ९० हजार भारतीय रुपैयाँ (करिब १ लाख ४४ हजार नेपाली रुपैयाँ) लाग्ने बताइएको छ। तर, आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको विपन्न परिवारका लागि यति ठूलो रकम जुटाउनु असम्भवप्रायः बनेको छ। पैसाको अभावमा आफ्नै अभिभावकको शव अस्पतालमै अड्किने अवस्था आएपछि परिवारका सदस्यहरू विक्षिप्त अवस्थामा पुगेका छन्।
स्थानीय युवाहरुले यस विषम घडीमा देबको शव नेपाल ल्याउन सहयोग गरिदिन देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा अपिल गरिरहेका छन।
सहयोग अभियानको समन्वय गरिरहनुभएका मीलन बोगटी र सुरत चन्दका अनुसार संकलित रकम सिधै शव ढुवानी तथा शोकसन्तप्त परिवारलाई हस्तान्तरण गरिनेछ।
सानोभन्दा सानो सहयोगले पनि एउटा विपन्न परिवारलाई आफ्नो गुमेको सहाराको अन्तिम संस्कार गर्न ठूलो राहत पुग्ने भएकाले सक्दो आर्थिक तथा सामाजिक सहयोगका लागि सबैमा हार्दिक अपिल गरिएको छ।