धनगढी : सुदूरपश्चिम प्रदेश सरकार आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्र कुमार हमालको सरुवा रोक्ने चलखेल भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई २०८३ सालको भदौ ३१ गते नै राष्ट्रिय महिला आयोग, काठमाडौँको सचिवमा सरुवा गरेको थियो ।
सामान्य प्रशासन मन्त्रालयको २०८३ भाद्र ०२ गतेको पत्रअनुसार नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८३ भाद्र ३१ गतेको निर्णयअनुसार निजामती सेवा ऐन, २०४९ को दफा १८(१) बमोजिम हमालको सरुवा गरिएको उल्लेख छ । तर सचिव हमालको सरुवा भएको एक हप्ता भन्दा बढी भई सक्दा समेत उनले मन्त्रालय छोडेका छैनन् । स्रोतका अनुसार उनी सरुवा रोक्ने चलखेलमा लागेका छन् । उनलाई नेपाली काँग्रेस र संघीय सरकारको नेतृत्व गरिरहेको रास्वपाका केही नेताहरू आर्थिक मन्त्रालयमै राख्ने चलखेलमा लागेका स्रोतको दाबी छ ।
हमाल नेपाल प्रशासन सेवाका रा.प. प्रथम श्रेणीका प्रदेश सचिवका रूपमा सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यरत थिए । कमल बहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेटका बेला पनि सचिव हमाललाई बजेट बनाउने भन्दा पनि फोन स्विचअफ गरेर गायब भएको, मनमानी तरिकाले बजेटको पिएलएमबिआईएसको पासवर्ड लक गरेको र कर्मचारी बाहेकका व्यक्तिबाट बजेट बनाउन लगाएको आरोप लागेको थियो ।
उनले सचिव भएका बेला असार १ गते ल्याइएको बजेट पनि पूर्ण रूपमा नबनेको, बजेट वक्तव्य पुरा तयार नपारी झारा टारेको र सदनमा बजेट प्रस्तुत भइसकेको तीन दिनसम्म पनि योजनाहरू ईन्ट्रि कार्य जारी राखेको आरोप लागेको थियो ।
कमल बहादुर शाह मुख्यमन्त्री भएका बेला हमाललाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको हो। तत्कालीन मन्त्रीपरिषद्ले उनलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाए पनि पछि उनलाई आर्थिक मामिला मन्त्रालयमा ल्याइएको थियो।
सरुवा भएको एक हप्ता भन्दा पनि बढी समय भई सक्दा समेत हमाल सरुवा भएको निकायमा गएका छैनन् । ‘सञ्चारमाध्यमबाट मैले पनि सरुवा भएको सुने, कुनै आधिकारिक पत्र पनि आएको छैन, मलाई त्यस बारेमा थाहा छैन’ सचिव हमालले भने । उनले नयाँ बजेट बन्ने बेलामा भएको आफ्नो सरुवाका बारेमा खासै बोल्न चाहेनन् ।
हमालको ठाउँमा सामान्य प्रशासन मन्त्रालयले बलराम रिजालको सरुवा गरेको छ । रिजाल बिहीबार मात्रै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हाजिर हुनेछन् । रिजाल संघीय अर्थ मन्त्रालय, उद्योग मन्त्रालय र गण्डकी प्रदेशमा आर्थिक मामिला मन्त्रालयमा सचिव रहिसकेका व्यक्ति हुन ।
अहिले सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालय नेकपा एमालेको भागमा परेको छ । एमालेका चक्र बहादुर मल्ल आर्थिक मामिला मन्त्री छन् । यसअघि उक्त मन्त्रालय नेपाली काँग्रेसको भागमा थियो ।
हमाल काँग्रेसका बहादुर सिंह थापा र काँग्रेसकै विक्रम सिंह धामी मन्त्री भएका बेलादेखि नै आर्थिक सचिवका रूपमा जिम्मेवारीमा थिए । सुदूरपश्चिममा सत्ता समीकरण फेरिएसँगै उनको सरुवा भएको हो । सुदूरपश्चिममा अहिले नेकपा र एमालेको गठबन्धन सरकार छ ।