डडेल्धुरा – डडेल्धुरा जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ जिल्लाको रूपमा घोषणा गरिएको छ। जिल्लाका सातवटै स्थानीय तहहरूमा खोप कार्यक्रमको पूर्ण सुनिश्चितता भएसँगै आज डडेल्धुरामा आयोजित एक औपचारिक समारोहका बीच जिल्लालाई औपचारिक रूपमा पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो।
‘पूर्ण खोप, सुरक्षित भविष्य’ भन्ने मूल नाराका साथ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो। जिल्ला पूर्ण खोप समन्वय समिति डडेल्धुराका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख गगन सिंह भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूका साथै विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै सरोकारवालाहरूले स्थानीय स्रोतको अधिकतम उपयोग, स्वामित्व र समुदायको सक्रिय सहभागिताले मात्रै खोप कार्यक्रमलाई दिगो बनाउन सकिनेमा जोड दिएका थिए। स्वास्थ्य जस्तो संबेदनसिल क्षेत्रलाई तिनै तहका सरकारहरुले प्राथमिकताका साथ महत्त्व दिनुपर्नेमा जोड दिए।
जिल्ला खोप समन्वय समितिका सदस्यसचिव तथा स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशर बहादुर साउदका अनुसार जिल्लाभर १०६ वटा खोप केन्द्रहरू मार्फत खोप सेवा प्रवाह भइरहेको छ। यस वर्षको अभियानका क्रममा जिल्लाभरका २,१४५ बालबालिकालाई खोप लगाइएको छ।
राष्ट्रिय खोप कार्यक्रमको अवधारणा अनुरुप १६ महिनाभित्र बालबालिकालाई लगाउनुपर्ने सम्पूर्ण खोप सुनिश्चित गरिसकिएको छ। नेपाल सरकारको प्राथमिकता प्राप्त यस जनस्वास्थ्य कार्यक्रमको मुख्य उद्देश्य सबै बालबालिकालाई समयमै निःशुल्क खोप उपलब्ध गराई विभिन्न रोगहरुबाट बच्न सकिने रोगहरूको नियन्त्रण, निवारण तथा उन्मूलन गर्नु हो।
कार्यक्रममा खोप अभियानलाई सफल बनाउन तल्लो तहसम्म नै महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई सम्मान समेत गरिएको थियो। स्वास्थ्य कार्यालयले खोप निःशुल्क र सुरक्षित रहेको भन्दै यसले बालबालिकाको जीवन रक्षा गर्ने हुनाले खोपलाई अभियानको रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएको छ। पूर्ण खोप सुनिश्चिततालाई दिगो बनाउन आगामी दिनमा स्थानीय सरकार हरुले थप सक्रिय भएर लाग्ने र समुदायको स्वामित्व वृद्धि गर्ने प्रतिबद्धता समेत कार्यक्रममा व्यक्त गरिएको छ।
खोप सुरक्षित छ र यसले जीवन रक्षा गर्छ भन्ने सन्देशसहित डडेल्धुरा जिल्लाले आफ्नो स्वास्थ्य सेवाको दायरालाई थप फराकिलो र प्रभावकारी बनाउने लक्ष्य लिएको छ।