डोटी — रात पर्दा सबै सुत्छन्, तर मिना खत्रीको आँखामा भने निद्रा आउँदैन। आँखा बन्द गरेपछि उनलाई एउटै अनुहार देखिन्छ—आफ्नी चार वर्षीया छोरीको।“आमा कहिले आउँछौ?” भन्ने कल्पनाले नै उनको मुटु चिरिन्छ।
डोटीको जोरायल गाउँपालिका–१, गोगनपानीकी मिना अहिले जीवन र मृत्युबीचको कठोर संघर्षमा छिन्। चार वर्षअघि रुखबाट लडेर कम्मर भाँचियो। ऋण–सापटी गरेर शरीरमा स्टिल राखिन्। पीडा सहिन्, बाँच्नका लागि तर सायद नियतिले उनको परीक्षा यतिमै सकिएको ठानेन।
वि.सं. २०८२ मंसिर १८ गते—त्यो दिन, जसले उनको जीवनलाई दुई टुक्रा बनायो। भक्तपुर क्यान्सर अस्पतालमा जाँच गर्दा थाहा भयो—उनी स्तन क्यान्सरबाट पीडित छिन्।
त्यो खबर सुन्दा उनको शरीर मात्र होइन, सपना, आशा, भविष्य—सबै एकैपटक भत्किए। केही दिन उनी चुपचाप रोइन्। कसैलाई देखाउन नसकिने पीडा भित्रै गुम्साइन्। तर जब छोरीको अनुहार सम्झिन् त्यहीँबाट उनले आँसु पुछिन्।“म हार्दिनँ… म बाँच्नैपर्छ,” उनले आफैंसँग वाचा गरिन्।
आज उनी काठमाडौंमा छिन्—अस्पतालका बेडहरू, औषधिका गन्ध, किमोथेरापीको पीडाबीच। तर उनको मन त अझै गाउँमै छ—त्यहीँ, जहाँ उनकी सानी छोरी आमाको काख खोज्दै निदाउँछे।
अहिलेसम्म ७ पटक किमोथेरापी गरिसकेकी छन्। शरीर कमजोर हुँदै गएको छ, तर मन अझै लडिरहेको छ। हर्मोन थेरापी चलिरहेको छ—प्रत्येकपटक ४० हजार रुपैयाँ खर्च। अझै १३ पटक बाँकी। ६ लाख रुपैयाँ खर्च भइसकेको छ। अब थप ९–१० लाख चाहिन्छ तर उनको हात अहिले खाली छन्।
उनी भन्छिन् “मेरो शरीर थाकिसक्यो होला, तर मेरो मन अझै हार मानेको छैन…
म बाँच्न चाहन्छु…
मेरो छोरीको ‘आमा’ भएर फेरि फर्किन चाहन्छु…
तर अब म एक्लैले सक्दिनँ…”
त्यसैले आज उनी सबैसँग हात जोड्दै अन्तिमपटक गुहार मागिरहेकी छन्—
“कृपया, मलाई बाँच्न सहयोग गरिदिनुहोस्…
तपाईंहरूको सानो सहयोगले मेरो छोरीको आमा बच्न सक्छ ।
सहयोगका लागि विवरण:
बैंक: एनआईसी एशिया बैंक लिमिटेड
खाता नम्बर: 3075753212555001
खातावालाको नाम: Santosh Khatri
सम्पर्क नम्बर: 9819304240 / 9741700109
क्युआर स्क्यान
