डडेल्धुरा: महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर नेपालमा गम्भीर स्वास्थ्य समस्याका रूपमा रहेको छ। समयमै पहिचान र रोकथामका उपाय नअपनाउँदा यस रोगका कारण हरेक वर्ष सयौँ महिलाले ज्यान गुमाइरहेका छन्। यही समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यसहित सरकारले एचपिभी (HPV) खोपलाई राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सञ्चालन गर्दै आएको छ।
एचपिभी भाइरस नै पाठेघरको मुखको क्यान्सरको मुख्य कारण मानिन्छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार यो भाइरस यौन सम्पर्कमार्फत सर्ने भए पनि किशोरावस्थामै खोप लगाए भविष्यमा क्यान्सर हुने जोखिम अत्यन्त न्यून हुन्छ। विशेषगरी १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूमा खोप प्रभावकारी हुने भएकाले यही उमेर समूहलाई लक्षित गरी एचपिभी खोप कार्यक्रम सञ्चालन गरिँदै आएको हो।
यसै सन्दर्भमा डडेल्धुरामा सञ्चालन हुन लागेको एचपिभी खोप अभियानलाई सफल बनाउन जिल्ला खोप समन्वय समितिको आयोजनामा सञ्चारकर्मी तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख गगन सिंह भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो।
अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोल निरीक्षक हरि प्रसाद भट्ट ले १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी एचपिभी खोप लगाइने जानकारी दिनुभयो। उहाँका अनुसार एचपिभीका २०० भन्दा बढी प्रकारमध्ये १६ र १८ प्रकार सबैभन्दा जोखिमपूर्ण छन्, जसले नेपालमा करिब ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर गराउने गरेका छन्।
कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार नेपालमा एचपिभी संक्रमणका कारण प्रतिदिन औसत ४ जनाको ज्यान जाने गरेको छ। यस्तो अवस्थामा खोप नै क्यान्सर रोकथामको सबैभन्दा सुरक्षित, प्रभावकारी र दीर्घकालीन उपाय भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।
स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार खोप अभियान माघ २७, २८ र २९ गते गरी तीन दिन सञ्चालन हुनेछ। अभियानअन्तर्गत जिल्लाभर १ हजार ५१६ जना किशोरीहरूलाई खोप लगाउने लक्ष्य लिइएको छ। गत वर्ष लक्षित समूहका ९४ प्रतिशत किशोरीहरूले एचपिभी खोप लगाइसकेको उल्लेख गर्दै यस वर्ष शतप्रतिशत पहुँचमा खोप पुर्याउने लक्ष्य राखिएको छ।
अन्तरक्रिया कार्यक्रममा खोप अभियान सफल बनाउन सञ्चारकर्मी, शिक्षा क्षेत्र, स्थानीय तह र अभिभावकहरूको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिइयो। सही सूचना प्रवाह, भ्रमको अन्त्य र जनचेतना अभिवृद्धि नगरेसम्म खोप अभियान पूर्ण रूपमा सफल हुन नसक्ने भन्दै सबै पक्षको सहकार्य अपरिहार्य रहेको सहभागीहरूको भनाइ थियो।
कार्यक्रममा सहभागी सञ्चारकर्मी तथा सरोकारवालाहरूले आ–आफ्नो क्षेत्रबाट खोप अभियानलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।