डडेल्धुरा, माघ ११ — डडेल्धुरामा ७३औँ विश्व कुष्ठरोग दिवस २०८२ को अवसरमा कुष्ठरोग निवारण सम्बन्धि स्वास्थ्यकर्मी र सञ्चारकर्मीबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा भएको कार्यक्रम कार्यालय प्रमुख केशरबहादुर साउँदको अध्यक्षतामा सम्पन्न भयो।
कार्यक्रममा “कुष्ठरोगको छ औषधि, सामाजिक लान्छना र विभेद मुख्य चुनौती” भन्ने नारासहित कुष्ठरोगको पहिचान, उपचार र सामाजिक स्वीकार्यताका विषयमा छलफल गरिएको थियो। कुष्ठरोग औषधिबाट पूर्ण रूपमा निको हुने रोग भए पनि सामाजिक लान्छना र विभेद अन्त्य गर्नु अझै मुख्य चुनौती रहेकोमा जोड दिइयो।

स्वास्थ्य कार्यालयका अधिकृत हरि प्रसाद भट्टका अनुसार कुष्ठरोग एक प्रकारको ब्याक्टेरियाबाट हुने संक्रामक रोग हो, जसले मुख्यतया छाला र वरिपरिका स्नायुमा असर गर्छ। समयमै उपचार नगरेमा अपाङ्गता समेत हुन सक्ने भएकाले प्रारम्भिक पहिचान र नियमित औषधि सेवन अत्यन्त आवश्यक रहेको उनले बताए। नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्ण रूपमा निको हुने उनको भनाइ छ।
भट्टद्वारा प्रस्तुत तथ्यांकअनुसार हाल देशभर २ हजार ४ सय जना कुष्ठरोगी रहेका छन्। तीमध्ये १४ वर्ष मुनिका ९१ जना र महिला बिरामी १ हजार १२ जना रहेका छन्। राष्ट्रिय स्तरमा प्रति एक लाख जनसंख्यामा ८ जना कुष्ठरोगी भेटिने गरेका छन्। सुदूरपश्चिम प्रदेशमा १७३ जना कुष्ठरोगी रहेको तथ्यांक प्रस्तुत गरिएको छ।
डडेल्धुरा जिल्लामा हाल ४ जना कुष्ठरोगी रहेका छन्, जसमा १ जना महिला छन्। सुदूरपश्चिम प्रदेशका ८४ पालिकामध्ये ४८ पालिकामा शून्य केस रहेको जनाइएको छ। डडेल्धुराको अमरगढी नगरपालिकामा २ जना, परशुराम नगरपालिकामा १ जना र भागेश्वर गाउँपालिकामा १ जना कुष्ठरोगी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले कुष्ठरोग सम्बन्धी सचेतना फैलाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन्। सामाजिक लान्छना र विभेद अन्त्यका लागि निरन्तर जनचेतना अभियान आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका छन्।