डोटी । सायल गाउँपालिकामा पालिका स्तरिय स्वास्थ्य संस्थाहरूको २ दिने वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ।
आर्थिक वर्ष २०८१/८२ मा स्वास्थ्य संस्थाबाट प्रदान गरिएका खोप, पोषण, परिवार नियोजन, सुरक्षित मातृत्व, ओपीडी, गाउँघर क्लिनिक, आकस्मिक सेवा लगायतका स्वास्थ्य कार्यसम्बन्धी १९ वटा महत्वपूर्ण तथ्यांक कार्यक्रममार्फत प्रस्तुत गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सायल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धर्मसिं बमले गाउँपालिकाका १ देखि ६ वडासम्मका आमा समूहमा पुगेर सर्ने र नसर्ने रोगहरूको पहिचान गरिएको लगायतका स्वास्थ्य सेवा गतिविधिबारे जानकारी गराउनुभयो।
सो अवसरमा प्रमुख अतिथि सायल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ पोख्रेलले स्वास्थ्यकर्मीहरूले गरेका असल अभ्यासहरूको प्रशंसा गर्दै केही कमीकमजोरीहरूलाई हटाउँदै लैजाने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमको अध्यक्षता सायल गाउँपालिका उपाध्यक्ष निर्मला ओलीले गर्नुभएको थियो। उहाँले जनस्वास्थ्य सेवा जटिल हुने भएकाले स्वास्थ्यकर्मीहरूले अझै बढी संवेदनशील भई काम गर्नुपर्नेमा जोड दिनुभयो।
यसैगरी, कार्यक्रमको सहजीकरण सायल गाउँपालिका वडा नम्बर ३ का स्वास्थ्य इञ्चार्ज रघु सुनारले गर्नुभएको थियो।