डडेल्धुरा - सुदूरपश्चिम प्रदेशमा विशेष महत्त्व बोकेको गौरा पर्व आजदेखि धुमधामका साथ सुरु भएको छ। भाद्र शुक्ल पञ्चमीबाट सुरु हुने यो पर्वलाई विशेषगरी डडेल्धुरा, बैतडी, अछाम, कैलाली, कञ्चनपुर,डोटि र दार्चुला लगायतका जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ। यस पर्वमा महिला र पुरुष दुवैको उत्साहजनक सहभागिता रहने गरेको छ।
गौरा पर्वको पहिलो दिन आज महिलाहरूले नदी, खोला वा इनारमा गएर (धान, गहुँ, मकै, गहत, केहुँ) धोएर भिजाउने परम्परा छ। यसलाई स्थानिय भाषामा 'बिरुडा पञ्चमी' पनि भनिन्छ। भोलिपल्ट ती भिजाएका अन्नलाई घर वा मन्दिरमा विशेष विधि अनुसार पूजा गरी 'गौरा घर' मा राखिन्छ।
धार्मिक विश्वास अनुसार, यो पर्वलाई भगवान शिव र पार्वतीको विवाहको सम्झनामा मनाइन्छ। गौरादेवीको पूजामा बिरुडाको प्रयोग गरिन्छ, जसलाई गौरीको प्रसादका रूपमा लिइन्छ। तामाको भाँडोलाई गाईको गोबरले लिपेर, दुबो र अक्षताले सिँगारी त्यसभित्र बिरुडा राखिने परम्परा छ।
गौरा पर्वको अर्को आकर्षण भनेको देउडा गीत र नाच हो। महिलाहरू हरियो र पहेँलो रङ्गका लुगा, चुरापोते र फूलले सजिएर गौरा माताको पूजा गर्छन्। गाउँघर, चोक र बजारहरूमा महिला–पुरुष गोलबद्ध भई देउडा गीत गाउँदै नाच्ने गर्छन्। यी गीतहरूमा सामाजिक,राजनीतिक समस्या, रहनसहन, र हास्यव्यङ्ग्यको प्रस्तुति पाइन्छ।
सामाजिक मेलमिलाप र एकताको प्रतीकका रूपमा रहेको गौरा पर्वलाई सुदूरपश्चिमेलीहरुले आफ्नो सांस्कृतिक पहिचानका रूपमा लिने गर्दछन। यसलाई 'सुदूरपश्चिमको दशैं' पनि भनिन्छ, जसले यस पर्वको महत्त्व र समाजमा यसको गहिरो प्रभावलाई दर्साउँछ। गौरा पर्वले सबैलाई एक ठाउँमा ल्याएर आपसी सद्भाव र खुसी साटासाट गर्ने मौका प्रदान गर्दछ।