डडेल्धुरा, साउन २७ — डडेल्धुरा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित भएको छ। "स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता"भन्ने नाराका साथ राष्ट्रिय खोप कार्यक्रम शनिबार अमरगढी नगरपालिकाको सभाहलमा विशेष समारोह बिच सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले औपचारिक रूपमा उदघाटन गर्दै डडेल्धुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिन्।
जिल्ला पुर्ण खोप समन्वय समिति डडेल्धुराको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य अधिकृत केशरबहादुर साउँदले राष्ट्रिय खोप तालिकाअनुसार जिल्लाभरिका दुई वर्ष मुनिका बालबालिकाले आवश्यक सबै १३ प्रकारका खोप समयमै लगाइसकेकोले डडेल्धुरा पूर्ण खोप जिल्ला घोषित हुन सफल भएको जानकारी दिए।
नेपाल सरकारले निःशुल्क प्रदान गर्दै आएको ती खोपहरू भित्र भ्यागुते, लहरे खोकी, धुनष्टंकार, हेपाटाइटिस बी, जापानीज इन्सेफ्लाइटिस, दादुरा, रुबेला, निमोनिया लगायतका रोगविरुद्धका खोपहरू पर्दछन्, जुन प्रायः १५ महिनाभित्र लगाइन्छ।
पूर्ण खोप सुनिश्चितता अभियानको सुरुवात आलिताल गाउँपालिकाले गरेको थियो। त्यसपछि डडेल्धुराका अन्य ६ पालिकाहरू— परशुराम नगरपालिका, अमरगढी नगरपालिका, नवदुर्गा, भागेश्वर, गन्यापधुरा र अजयमेरु गाउँपालिका —ले पनि लक्ष्य पूरा गरेसँगै सातै पालिका र संपूर्ण ५२ वडा खोप सुनिश्चितता कायम गरिएको थियो।
यस उपलब्धिमा स्वास्थ्य कार्यालय डडेल्धुरा, सातै पालिकाका स्वास्थ्य शाखा, स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, तथा स्थानिय तहका सामाजिक विकास संयोजकहरूको विशेष भूमिका रहेको ले कार्यालय प्रमुख साउँदले विशेष धन्यवाद दिए।
कार्यक्रममा अभियानमा विशेष योगदान पुर्याउने स्वास्थ्य स्वयंसेविकाहरूलाई नगद रु ५,०००, सम्मानपत्र र कदरपत्र प्रदान गरिएको थियो। सम्मानित स्वयंसेविकाहरू यस प्रकार छन
आलिताल – बिकरी देवी
परशुराम – बसन्ती पाण्डे
गन्यापधुरा – भुवनेश्वरी देवी जोशी
अजयमेरु – बसन्ती देवी पाल
भागेश्वर – भूमिका थापा मगर
अमरगढी – डम्बरी भट्ट
नवदुर्गा – गौमती देवी साउँद
यस्तै, खोप सुरक्षा, भण्डारण, ढुवानी लगायतका कार्यमा उत्कृष्ट योगदान गर्ने कर्मचारी हेल्थ असिस्टेन्ट धर्म ऐरी, कम्प्युटर अपरेटर करिस्मा भट्ट तथा सात पालिकाका खोप कार्यकर्ताहरूलाई समेत विशेष सम्मान गरियो।
पालिका अनुसार उत्कृष्ट खोप कार्यकर्ता:
अमरगढी – सुनिता गुरुङ
परशुराम – रेखा भट्टराई
आलिताल – हेमन्त मडै
भागेश्वर – योगेन्द्र खड्का
अजयमेरु – सावित्री पनेरु
नवदुर्गा – प्रेम बहादुर साउँद
गन्यापधुरा – नवराज जोशी
यससँगै सातै पालिकालाई प्रशंसापत्र समेत प्रदान गरिएको छ।
समारोहमा बोल्दै राज्यमन्त्री सरस्वती खड्काले स्वास्थ्य क्षेत्रमा देखिएको प्रगति सराहनीय भए पनि समाजमा अझै महिला हिंसा, मद्यपान, आत्महत्या जस्ता समस्याहरू कायम रहेको बताउँदै "अब स्वास्थ्यसँगै सामाजिक व्यवहार परिवर्तनमा पनि ध्यान दिनुपर्ने बेला आएको" बताइन्।
उनले भनिन्, “दैनिक १ घण्टा आफ्ना लागि” भन्ने सामाजिक विकास कार्यालय सुदूरपश्चिम प्रदेशको नारालाई व्यवहारमा उतार्न सके मात्र आत्महत्या र हिंसाबाट बच्न सकिन्छ। उनले रक्सीको दुरुपयोगप्रति संकेत गर्दै भनिन्,हाम्रो समाजमा “चामलको बोरामा समेत रक्सीका बोतल भेटिन्छन्, यस्तो अवस्थाले महिला हिंसालाइ अँझै बढाएको छ।”
कार्यक्रममा युनिसेफ, रुढुक, MPDS, IDAS, महिला मुक्ति समाज डडेल्धुरा लगायतका संघसंस्थाहरूलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो।
त्यस्तै, नेपाल पत्रकार महासंघ
डडेल्धुराका अध्यक्ष हिक्मत बहादुर सिंह, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, परशुराम नगरपालिकाकी उप–प्रमुख विमला कुमारी बोहरा लगायतले कार्यक्रमको सफलताको प्रसंसा गर्दै सबैमा बधाई व्यक्त गरेका थिए।