डडेल्धुरा - डडेल्धुरामा विश्व धूमपान तथा सुर्तीजन्य पदार्थरहित दिवस मनाइएको छ।
"सुर्तीजन्य उद्योगको आकर्षक चाल, प्राणघातक असर चिरौं यो मोहजाल" भन्ने नाराका साथ स्वास्थ्य कार्यालय डडेल्धुराले शनिबार जिल्ला सदरमुकाममा पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाएको हो।
विश्वमा हरेक वर्ष करिब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गरेको तथ्यांक रहेको स्वास्थ्य कार्यालय डडेल्धुराका निमित्त प्रमुख भवानसिंह कुँवरले जानकारी दिए। उनका अनुसार नेपालमा बर्सेनि करिब ३९ हजार मानिसको मृत्यु सुर्तीजन्य पदार्थ सेवनका कारण हुने गर्दछ।
सुर्तीजन्य पदार्थको सेवनबाट मुख तथा फोक्सोको क्यान्सर, मुटु रोग, दम, नसाको रोग, श्वास नलीको सङ्क्रमण र क्षयरोगजस्ता घातक रोग लाग्छन्। यी रोग बढ्दै गएपछि मानिसको मृत्युसमेत हुने गरेको कुँवरले बताए।
सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐनमा कसैले पनि १८ वर्ष नपुगेका व्यक्ति र गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न वा निःशुल्क उपलब्ध गराउन नपाउने ऐनमा उल्लेख छ। ऐनमा सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर पसलबाट सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न नपाउने व्यवस्था गरेको छ।
यसका साथै एनेले राज्यका निकाय, स्वास्थ्य संस्था, शिक्षण संस्था, विमान तथा विमानस्थल, सार्वजनिक सवारी, उद्योग तथा कलकारखाना, होटेल, रेष्टुरेण्ट, चलचित्र, नाट्यशाला, खेलकुद क्षेत्र, डिपार्टमेन्ट स्टोर, मिनी मार्केक र धार्मिकस्थल, टिकट काउन्टरजस्ता धेरै मानिसहरू कार्य गर्ने जम्मा हुने कुनै पनि सार्वजनिक स्थलहरूमा धुम्रपान तथा सूर्ति सेवन गर्न नपाईने व्यवस्था गरेको भएपनी डडेल्धुरा विभिन्न स्थानहरूमा खुलेयाम बिक्रीवितरण तथा सेवन गरिरहेका दृश्यहरु देखिने गरेका सहभागीले अन्तरक्रियामा उठाएका थिए।