अविरल वर्षाका कारण कैलाली, कञ्चनपुरको विभिन्न क्षेत्रमा डुबान भएको छ । विभिन्न नदीमा आएको बाढीले डुबान भएको हो ।कैलालीको विभिन्न क्षेत्रमा डुबान भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। मोहना, पथरैया, काँढा, कान्द्रा, शिवगङ्गा, कटैनी लगायतका नदीनालामा आएको बाढीले डुबान भएको हो ।
भजनी नगरपालिका, जानकी गाउँपालिका, धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिकामा गरेर १६६ घर डुबानमा परेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ । जानकी गाउँपालिका–४ मा ८० र ७ मा ५८ घर डुबानमा परेको छ । पथरैया नदीमा आएको बाढी गाउँमा पसेको हो ।
यस्तै, जोशीपुर गाउँपालिका–३ मा काँढा नदीको बाढीका कारण पाँच घर डुबान भएको छ । कटैनी नदीमा आएको बाढीका कारण कैलारी गाउँपालिका–७ बड्का बसन्तामा १४ घर डुबेको छ । यसैगरी, धनगढी उपमहानगरपालिका–१३ स्थित श्रीलङ्कामा डुबानमा परेका तीन परिवारलाई नवज्योती विद्यालयमा सारिएको छ । मोहना नदीमा आएको बाढीले सो ठाउँमा डुबान भएको हो ।
यसैगरी, काँढा नदीमा आएको बाढी भजनी नगरपालिकाकाको वडा नम्बर २, ३, ८ स्थित काँढा, ढुसी, मोहनपुर, काँढाढिक गाउँका कैयौं घरमा पानी पसेको छ । करिब ४०० घर डुबानमा परेका छन।
बिहीबार राति मोहना र शिवगङ्गा नदीमा बाढीले खतराको सङ्केत पार गरेको थियो । शुक्रबार विहानदेखि सबै नदीमा बाढी घटिरहेको आपतकालीन कार्य सञ्चालन केन्द्रमा कार्यरत चेतन खड्काले बताए । उता, कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का बल्मी, डुङालगायत गाउँमा बिहीबारराति दोदा नदीमा आएको बाढीले तीन दर्जन बढी घर डुबानमा परेका छन् । चुरे क्षेत्रमा भएको वर्षाका कारण नदीमा आएको बाढीले घर डुबानमा परेपछि स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थानमा सरेका छन् ।