लोकेन्द्र ओझा
डडेलधुरा । उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको डडेल्धुरा सेवा केन्द्रको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। मंगलबार उद्योग वाणिज्य संघ डडेल्धुराको सभा हलमा सम्पन्न साधारण सभामा संस्थाको वार्षिक प्रगति, वित्तीय अवस्था, बचत तथा ऋण कारोबार, सदस्यको हित र आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको थियो।
सभामा संस्थाका सञ्चालक हर्कबहादुर चन्दले आर्थिक वर्ष २०८२/०८३ र अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरणसहितको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा संस्थाको शेयर पुँजी २३ करोड १८ लाख ५६ हजार ४ सय रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा शेयर पुँजी २२ करोड ६ लाख ९५ हजार ५ सय रुपैयाँ रहेको थियो।
त्यस्तै, संस्थाको बचत २ अर्ब २४ करोड ७९ लाख ५७ हजार ८२४ रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बचत १ अर्ब ९९ करोड ६५ लाख ३२ हजार ६९४ रुपैयाँ रहेको थियो। संस्थाले चालु आर्थिक वर्षमा १ अर्ब ६८ करोड ४४ लाख ५४ हजार ९४३ रुपैयाँ ऋण लगानी गरेको छ। सोही अवधिमा संस्थाले ३ करोड ७६ लाख ५० हजार ४६४ रुपैयाँ नाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षमा संस्थाको नाफा ५ करोड २ लाख ६२ हजार रुपैयाँ रहेको थियो।
साधारण सभाका अवसरमा संस्थाले विभिन्न विधामा उत्कृष्ट तथा ज्येष्ठ सदस्यहरूलाई सम्मान तथा प्रोत्साहन गरेको छ। उद्यमी सदस्यतर्फ हरिशंकर नाथ, चेतबहादुर ऐर, तिलकराज पाठक र विष्णुदेवी श्रेष्ठ सम्मानित भएका छन्। त्यस्तै अभिमत ऐर, ममता जोशी, सुभाष पाण्डेय र जेशन पाललाई समेत सम्मान गरिएको छ। ज्येष्ठ नागरिकतर्फ हर्कबहादुर ऐरलाई सम्मान गरिएको थियो।
कार्यक्रममा लेखा समिति संयोजक चित्राङ्क थापाले सहकारीको लेखा व्यवस्थापन, आन्तरिक समस्या, सहकारी क्षेत्रमा देखिएका चुनौती तथा लेखापरीक्षकबाट तयार पारिएको प्रतिवेदनका विषयमा जानकारी गराउनुभएको थियो। सहकारीका सञ्चालक हर्कबहादुर चन्दको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दले गर्नुभएको थियो।
उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको मुख्य कार्यालय कञ्चनपुरको महेन्द्रनगरमा रहेको छ। संस्थाका सेवा केन्द्रहरू धनगढी, अत्तरिया, बेलौरी, दैजी, झलारी, कृष्णपुर, दोधारा, डडेल्धुरा र बैतडीमा रहेका छन्।