डडेल्धुरा - डडेल्धुराको आलिताल गाउँपालिका–१ मा किसान सूचीकरण प्रक्रियामा गम्भीर लापरबाही देखिएको छ। गाउँपालिकाको सूचीकरण लिस्टमा रहेको र वडा नं. १ को कार्यालयले हालै सार्वजनिक गरेको किसानहरूको विवरणमा स्थानीय धेरै किसानहरू छुटेका छन् भने छिमेकी गन्यापधुरा गाउँपालिकाका बासिन्दाको नामसमेत समावेश गरिएको छ।
विवरणको १ र २ नम्बरमा गन्यापधुराका प्रेमबहादुर महता र मानबहादुर देउवा तथा ३ नम्बरमा वडामा टोल नै पहिचान नखुलेकी जन्तरी चुनाराको नाम परेपछि स्थानीयले प्राविधिक दक्षताको अभाव वा कर्मचारीको चरम लापरबाही भन्दै विरोध जनाएका छन्।
नाम लिस्टको पहिलो, दोस्रो र तेस्रो नम्बरमै अलग पालिकाको नाम–ठेगाना हुँदासमेत सम्बन्धित कसैको ध्यान नजानुले किसान सूचीकरणको विषयलाई हल्का रूपमा लिइएको अर्थ लाग्ने देखिन्छ।
यस विषयमा वडाध्यक्ष योगेन्द्रबहादुर देउवाले गाउँपालिकाले पठाएको विवरण नै सार्वजनिक गरिएको स्पष्ट पार्दै यो अन्तिम सूची नभएकाले देखिएका त्रुटि तत्काल सच्याइने बताएका छन्।
यद्यपि, वडा कार्यालयले भने लिस्टको विवरणअनुसारका किसान किसान सूचीकरण प्रणालीमा प्रविष्ट भइसकेको र छुट्न गएकाहरूको हकमा सूचीकरण हुन थप सूचना निकालेको थियो।
किसानको पहिचान, अनुदान, मल–बीउ, सहुलियतपूर्ण ऋण र विपद् राहत वितरणका लागि किसान सूचीकरण सरकारी अभिलेखको मुख्य आधार हुने भएकाले यस्तो संवेदनशील विषयमा हल्का ढंगले विवरण सार्वजनिक हुनु लज्जास्पद भएको स्थानीयहरू बताउँछन्।