मृत्युको खबर सुन्नुभन्दा पनि असह्य हुन्छ— न सास, न त लास भेटिएको अनिश्चित प्रतीक्षा। आफन्त गुमाउँदा कम्तीमा शवको अनुहार हेरेर दागबत्ती दिने सनातन संस्कारसमेत जब अधुरो बन्छ, तब शोक केवल आँसुमा मात्र सीमित रहँदैन, विवशताको अर्को रूप बन्छ। रसुवाको बाढीमा प्रियजन हराएको ३५ दिनसम्म जीवितै फर्किने झिनो आशा र डीएनए रिपोर्टको प्रतीक्षामा गलिसकेका डडेल्धुरा आलिताल गाउँपालिका–३ कान्तिपुर गाउँका पीडित परिवारले अन्ततः कुशको पुत्ला बनाएर सामूहिक अन्त्येष्टि गरेका छन्। न त शरीर भेटियो, न त पहिचानको औपचारिक आधार नै आयो; अन्ततः कुशलाई चितामा जलाएर आफ्ना सन्तान र अभिभावकलाई बिदाइ गर्नुपर्दा सिङ्गो कान्तिपुर गाउँ नै स्तब्ध र मर्माहत बनेको छ।
गत भदौ १० गते रसुवास्थित लाङटाङ हाइड्रोपावरमा काम गर्न पुगेका कान्तिपुर गाउँका ६ जना युवा बाढीको भेलसँगै बेपत्ता भएका थिए। नदीको उर्लँदो बहावसँगै हराएका उनीहरूको न त जीवित उद्धार हुन सक्यो, न त नदी किनारमा शव नै फेला पर्यो। अस्पतालमा संकलन गरिएको डीएनए परीक्षणको नतिजा आउन ढिलाइ भएपछि र अब भेटिने कुनै आधार बाँकी नरहेपछि परिवारले धार्मिक विधिअनुसार प्रतीकात्मक रूपमा कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन्। बेपत्ता ६ जनामध्ये पाँच जनाको सामूहिक दाहसंस्कार गरिएको छ भने बाँकी एक जनाको अन्त्येष्टि असोज १७ गते गरिने परिवारले जनाएको छ।
यो विपत्तिले सबैभन्दा ठूलो बज्रपात अपाङ्गता भएका भीमबहादुर राम्जालीको परिवारमाथि पारेको छ। घरको मूल खम्बा बनेर मजदुरी गर्न गएका दुई छोराहरू— ३४ वर्षीय गौरव र २३ वर्षीय गोविन्द— दुवैलाई एकै चिहान बनाएको बाढीले बाबुको सहारा खोसिदिएको छ। गौरवका दुई साना छोरा र गोविन्दका काखे बालक अझै पनि बुवा घर फर्किने आशामा ढोकातिर हेरिरहँदा परिवारको रोदन थामिनसक्नु छ। गौरभ र गोविन्दसँगै २१ वर्षीय उत्तम राम्जाली, २४ वर्षीय लक्ष्मण राम्जाली र २३ वर्षीय उत्तम बुढामगरको पनि कुशको शव बनाएर सामूहिक रूपमा अन्तिम संस्कार गरिएको छ। आर्थिक रूपमा विपन्न यी परिवारका लागि युवा पुस्ताको सामूहिक विछोडले जीवनभरिको घाउ दिएको छ।
सामान्यतया अन्तिम बिदाइमा आफ्ना मान्छेको मृत शरीर भए पनि हेरेर मनलाई सम्झाउने ठाउँ रहन्छ। तर, चितामा केवल कुशको पुत्ला राखेर आगो सल्काउन बाध्य भएका कान्तिपुरवासीका लागि यो बिदाइ इतिहासकै कठोर पीडा बनेको छ। युवाहरूको हाँसो, उमङ्ग र श्रमले गुञ्जिने कान्तिपुर बस्ती यतिबेला मसानघाटजस्तै सुनसान र शोकाकुल छ। बाढीले बगाएका युवाहरूको शरीर नदीले कता पुर्यायो पत्तो छैन, तर उनीहरूले छोडेर गएको शून्य र गहिरो वेदनाले वर्षौंसम्म यो बस्तीलाई पोलिरहने निश्चित छ।