डडेल्धुरा - डडेल्धुराको बागबजार र बगरकोट सडक खण्डमा हुने सवारी आवागमनको अवरोध हटाउन तथा ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन सरोकारवालाको बैठकले नयाँ मापदण्ड लागू गर्ने निर्णय गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी वेदराज फूयलको अध्यक्षतामा बसेको जिल्ला समन्वय समितिको बैठकले सडक जाम न्यूनीकरणका लागि विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको हो।
बैठकले गरेको निर्णय अनुसार, भागेश्वर गाउँपालिकातर्फ चल्ने सवारी साधनहरूलाई बगरकोट सडक खण्डस्थित चिरञ्जीवी अस्पताल साइडको एकातर्फ मात्र पार्किङ गर्न अनुमति दिइनेछ। अन्य पालिकामा चल्ने सवारी साधनहरूलाई भने बसपार्क लगायतका तोकिएका उपयुक्त स्थानहरूमा मात्र पार्किङको व्यवस्था मिलाइने भएको छ।
यसैगरी बजार क्षेत्रमा हुने अत्यधिक भीडभाड नियन्त्रण गर्न बगरकोट सडक, बागबजार र तुफानडाँडा क्षेत्रमा दिउँसो ०१:०० बजेदेखि ०३:०० बजेसम्म मालवाहक सवारी साधनको लोड तथा अनलोड गर्न पूर्ण रोक लगाइएको छ। पैदल यात्रु तथा सवारी आवागमनलाई सहज बनाउन तुफानडाँडादेखि बगरकोट चोकसम्म सडकमा थुपारिएका सम्पूर्ण निर्माण सामग्री तथा उपकरणहरू तत्काल हटाउने निर्णय समेत गरिएको छ।
बजार क्षेत्रको पार्किङलाई व्यवस्थित गर्न लेन प्रणाली लागू गरिनेछ। जसअनुसार घरतर्फको पहिलो लेनमा मोटरसाइकल र त्यसपछिको अर्को लेनमा कार तथा अटो रिक्सा राख्न पाइनेछ भने सडकको बीच भागमा कुनै पनि सवारी पार्किङ गर्न पूर्ण रूपमा निषेध गरिएको छ।
ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक पर्ने साइन पोस्ट र रोड डिभाइडरहरू सडक डिभिजन कार्यालय डोटी र अमरगढी नगरपालिकाले उपलब्ध गराउनेछन्। साथै, सडक व्यवस्थापनमा सहयोग पुर्याउन बजार क्षेत्रमा २ जना नगर प्रहरी खटाउन अमरगढी नगरपालिकालाई तत्काल पत्राचार गरिने भएको छ।
सवारी नियम उल्लंघन गर्ने, अत्यधिक गतिमा चलाउने, मादक पदार्थ (मापसे) तथा लागुपदार्थ (लापसे) सेवन गरी सवारी हाँक्ने, गलत ठाउँमा पार्किङ गर्ने र बैठकका निर्णय अवज्ञा गर्ने चालकहरूलाई कडा कानुनी कारबाही गरिने प्रशासनले जनाएको छ। बैठकले राजमार्गलाई पूर्ण रूपमा अवरोधरहित बनाउन कार्ययोजना तथा रोष्टर समेत पारित गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।