डडेल्धुरा — रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि डडेल्धुराको आलिताल गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
गाउँ कार्यपालिकाको बैठकले बाढीपीडितको राहत,पुनर्स्थापना तथा पुनःनिर्माण का लागि गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीको पारिश्रमिक र सेवा सुविधाबाट निश्चित रकम कट्टा गरी सहयोग गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार गाउँपालिका कार्यालय तथा मातहतका निकायमा कार्यरत शिक्षक र कर्मचारीको पारिश्रमिकबाट संघीय मापदण्डअनुसार रकम संकलन गरिनेछ। श्रेणीविहीन कर्मचारीको २ दिन, सहायक स्तरका कर्मचारीको ५ दिन र अधिकृत स्तरका कर्मचारीको ७ दिन बराबरको पारिश्रमिक कट्टा गरी ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिने गाउँपालिकाले जनाएको छ।
त्यस्तै, जनप्रतिनिधिहरूको एक महिनाको पदाधिकारी सेवा सुविधाबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षको १५ दिन तथा अन्य जनप्रतिनिधिको १० दिन बराबरको रकम कट्टा गरी आलिताल गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा गरिने निर्णय भएको छ।
गत भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा,नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा जनधनको ठुलो क्षति हुनुका साथै घर, सडक तथा पुललगायतका भौतिक संरचनामा क्षति पुगेको छ।
विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेका बेला आलिताल गाउँपालिकाले पनि पीडितका लागि सहयोगको हात अघि बढाएको हो।