डडेल्धुरा —डडेल्धुराको अलिताल गाउँपालिका वडा नम्बर ७, खिन्नेभाडीस्थित श्री महादेव माध्यमिक विद्यालयमा अध्ययनरत छिमेकी परशुराम नगरपालिका–११ का करिब ३०० जना विद्यार्थी स्थानीय भालुखोलामा झोलुङ्गे पुल नहुँदा दैनिक ज्यान जोखिममा राखेर आवतजावत गरिरहेका छन्।
अलिताल–७ र परशुराम–११ को सीमा क्षेत्रमा पर्ने पुन्तुरा खोलाको मुहान ‘भालुखोला’ मा पुल नहुँदा विद्यार्थी तथा स्थानीयले लामो समयदेखि सास्ती खेप्दै आएका हुन्। परशुराम नगरपालिका–११ अन्तर्गत पर्ने भट्टेनी, उत्तरखेडा, जबनेगाडा, कटौजा, नाराङ्गा, सिमल बण्ड र कराले लगायतका बस्तीहरूबाट महादेव माध्यमिक विद्यालयमा अध्ययन गर्न आउने बालबालिकाहरू वर्षा सुरु भएसँगै खोलाको तीव्र बहावका कारण विद्यालय जानबाटै वञ्चित हुनुपर्ने अवस्था छ।
खोलामा आएको बाढीका कारण विद्यार्थीहरू समयमै विद्यालय पुग्न सक्दैनन् भने कतिपय अवस्थामा खोला किनारबाटै घर फर्किनुपर्ने बाध्यता रहन्छ। यसले गर्दा विद्यालयको नियमित पठनपाठन नै अवरुद्ध बन्ने गरेको छ।
महादेव माध्यमिक विद्यालयका शिक्षक रमेश बोहराका अनुसार खोलामा पुल नभएकै कारण वर्षातको सिजनमा पठनपाठन नराम्ररी प्रभावित हुँदै आएको छ। "परशुराम–११ का विभिन्न बस्तीबाट मात्रै झण्डै ३०० विद्यार्थीहरू यही भालुखोला तरेर विद्यालय आउने गर्छन्," शिक्षक बोहराले भने, "पानी पर्नासाथ खोलामा बहाव अत्यधिक बढ्छ, जसले गर्दा विद्यार्थीहरू समयमा हाजिर हुन सक्दैनन्। सधैंजसो कक्षा अवरुद्ध हुने, विद्यार्थीहरू खोला किनारमै रोकिने र घर फर्किनुपर्ने बाध्यता छ। यसले बालबालिकाको सिकाइ प्रक्रियामा गम्भीर असर पारेको छ।"
वर्षायाममा उर्लिएर आउने खोला तर्ने क्रममा बालबालिका चिप्लिने वा बगाउने त्रासले अभिभावकहरू समेत त्रसित हुने गर्दछन्। शिक्षा आर्जन गर्नकै लागि दैनिक ज्यान जोखिममा राख्नुपर्ने यो विवशता वर्षौंदेखि कायम रहेको स्थानीयको भनाइ छ।
अलिताल गाउँपालिका र परशुराम नगरपालिका दुवै पालिकाका जनप्रतिनिधि, प्रदेश तथा संघीय सरकारले आपसी समन्वय गरी तत्काल भालुखोलामा झोलुङ्गे पुल निर्माण गरिदिन विद्यालय परिवार, विद्यार्थी तथा स्थानीय बासिन्दाले माग गरेका छन्।