३० दिनदेखि छोरीको अत्तोपत्तो छैन। घरमा हरेक दिन एउटै आशा छ—कुनै दिन छोरी फर्केर आउनेछिन्। तर, बिहीबार आएको एउटा खबरले निरौलाको परिवारलाई खुसीभन्दा बढी पीडा दिएको छ।
विराटनगर महानगरपालिका–३ की २४ वर्षीया ऋचा निरौला भदौ १० गते आएको भोटेकोशी बाढीमा परेर बेपत्ता भएकी हुन्। उनी रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत थिइन्। बाढीमा बेपत्ता भएको एक महिना पुग्न लाग्दा पनि परिवारले उनको कुनै खबर पाउन सकेको छैन।
यहीबीच बिहीबार लोकसेवा आयोगले सार्वजनिक गरेको सब–इन्जिनियर पदको लिखित परीक्षाको नतिजामा ऋचा उत्तीर्ण भएको खबर परिवारसम्म पुग्यो। नतिजामा उनको नाम १२औँ क्रमसंख्यामा छ।
ऋचाले गत असार ६ गते पहिलोपटक लोकसेवा आयोगको परीक्षा दिएकी थिइन्। पहिलो प्रयासमै लिखित परीक्षा उत्तीर्ण भएको खबर सुन्दा सामान्य अवस्थामा परिवारमा खुसी छाउने थियो। तर, अहिले त्यही सफलताको खबरले बुबा लीलाप्रसाद निरौलासहित परिवारका सदस्यको मन झन् भारी बनाएको छ।
‘छोरीले नाम निकाली भनेर खुसी हुने कि छोरी कहाँ छिन् भनेर खोज्ने ?’ भन्ने पीडामा परिवार छ। छ महिनाअघि मात्रै कामको सिलसिलामा ऋचा रसुवा पुगेकी थिइन्। तीन सन्तानमध्ये कान्छी ऋचाले आफ्नो भविष्य बनाउने सपना बोकेर पहिलोपटक लोकसेवा परीक्षा दिएकी थिइन्। पहिलो प्रयासमै सफलता पनि हात पारिन्। तर, सफलता हात पारेको खबर आउँदा उनी स्वयं कहाँ छिन् भन्ने परिवारलाई थाहा छैन।
बुबा लीलाप्रसादका अनुसार ऋचाको मोबाइलको लोकेसन उत्तरगया गाउँपालिका–१ स्थित तिरु आधारभूत विद्यालय आसपाससम्म देखिएको थियो। त्यसपछि उनको मोबाइल स्विच अफ छ।
छोरीको सफलताको खबर सुन्दा आमाबुबाको मनमा खुसी आउनुपर्ने थियो। तर, अहिले त्यो खबरसँगै एउटै प्रश्नले परिवारलाई सताइरहेको छ—‘लोकसेवामा नाम निकाल्ने छोरी कहाँ छिन् ?’
परिवार अझै ऋचा सकुशल फर्किने आशामा छ। सफलताको खबरले उनको खोजीमा रहेका परिवारको आशा पनि थप बलियो बनेको छ—कुनै दिन ऋचा आफैं फर्किएर आफ्नो सफलताको खबर सुन्नेछिन्।