सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुख नजीर मियाँले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।
को हुन खगराज भट्ट ?
नेपालको समकालीन वामपन्थी राजनीति तथा राष्ट्रिय र सुदूरपश्चिम प्रदेशको सत्ता संरचनामा सुदूरपश्चिम प्रदेशका चर्चित नेता खगराज भट्ट एक वैचारिक, सङ्घर्षशील र प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित छन्। तीन दशकभन्दा लामो राजनीतिक यात्रामा उनले भूमिगत सशस्त्र जनयुद्धको जटिल साङ्गठनिक जग निर्माणदेखि सङ्घीय तथा प्रदेशको संसदीय राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका–४, चौडीमा वि.सं. २०३१ पौष २ गते स्व. रामदत्त भट्ट र गोमती देवी भट्टको कोखबाट जन्मिएका उनी मध्यमवर्गीय पारिवारिक पृष्ठभूमिबाट आएका हुन्। मञ्जु बमका साथ वैवाहिक जीवनमा बाँधिएका उनका दुई छोराहरू रहेका छन्। कानुन संकायमा प्रवीणता प्रमाण पत्र तह (आई.एल.) सम्मको औपचारिक अध्ययन पूरा गरेका भट्टसँग कानुनी चेतना र राजनीतिक विश्लेषणको सबल क्षमता रहेको छ। स्थायी रूपमा डडेल्धुराका निवासी भए पनि प्रादेशको राजनीतिक क्रियाशीलताका कारण उनी हाल कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, तारानगरमा बसोबास गर्दै आएका छन्।
नेपालमा प्रजातन्त्रको पुनर्स्थापना पश्चात् वि.सं. २०४७ मा नेकपा एकता केन्द्रको पार्टी सदस्यता प्राप्त गरी औपचारिक राजनीतिमा प्रवेश गरेका भट्ट वि.सं. २०५० असोजदेखि पार्टीको पूर्णकालीन कार्यकर्ता बनेका थिए। सोही वर्षको कात्तिकमा डडेल्धुरा जिल्ला कमिटी सदस्य बनेका उनी तत्कालीन राज्यसत्ताविरुद्ध राजनीतिक गतिविधि सञ्चालन गरेको अभियोगमा वि.सं. २०५२ फागुन २४ गते अमरगढीबाट गिरफ्तार भई डडेल्धुरा जिल्ला कारागारमा वि.सं. २०५३ पुस ८ गतेसम्म करिब १० महिना कठिन जेल जीवन बिताउन बाध्य भए। तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको १० वर्षे सशस्त्र जनयुद्धको अवधिमा (वि.सं. २०५२ फागुन १ देखि २०६३ बैशाख १२ सम्म) उनी पूर्ण रूपमा भूमिगत भई सुदूरपश्चिमका विकट भौगोलिक क्षेत्रहरूमा पार्टी सङ्गठन र सैन्य संरचना निर्माणमा सक्रिय रहे। सो क्रममा उनले वि.सं. २०५८ श्रावणमा डडेल्धुरा जिल्ला सेक्रेटरी, २०५९ पुसमा दार्चुला र बैतडी जिल्लाको संयुक्त इन्चार्ज, २०६० मा केन्द्रीय कमिटी सदस्य तथा २०६४ मा सेती–महाकाली राज्यसमिति सचिवको जिम्मेवारी सम्हालेका थिए।
वि.सं. २०६३ को शान्ति प्रक्रियापछि संसदीय राजनीतिमा रूपान्तरित भएका भट्टले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको राजनीतिक गढ मानिने डडेल्धुरालाई आफ्नो मुख्य चुनावी प्रतिस्पर्धाको थलो बनाए। वि.सं. २०६४ को पहिलो संविधान सभा निर्वाचनमा देउवाले २०,५२९ मत प्राप्त गर्दा भट्टले १९,१६१ मत ल्याई देउवालाई कडा चुनौती दिएका थिए, जहाँ देउवा केवल १,३६८ मतको झिनो अन्तरले मात्र विजयी बनेका थिए। त्यसपछि वि.सं. २०७० को दोस्रो संविधान सभा निर्वाचनमा देउवाले २३,९२० मत ल्याउँदा भट्ट १२,४९३ मतमा सीमित भए भने वि.सं. २०७४ को प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार बनेका भट्टले २१,९२९ मत प्राप्त गर्दा देउवाले २८,०४४ मत ल्याएर विजय हासिल गरे। लगातार तीन पटकसम्म राष्ट्रिय कदका नेता देउवासँग पराजय व्यहोरे तापनि राजनीतिक धरातल नछाडेका भट्ट वि.सं. २०७९ को आम निर्वाचनमा फेरिएको राजनीतिक समीकरणअन्तर्गत डडेल्धुरा प्रदेशसभा १ (क) बाट प्रत्यक्ष निर्वाचित भई प्रादेशिक राजनीतिमा बलियो उपस्थिति जनाउन सफल भए।
प्रदेशसभामा प्रवेश गरेपछि नेकपा (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता बनेका भट्टले प्रदेश सरकारमा मन्त्रीका रूपमा कार्यभार सम्हाल्नुका साथै प्रमुख प्रतिपक्षी दलको नेताको भूमिकासमेत कुशलतापूर्वक निर्वाह गरे। तीन दशक लामो क्रान्तिकारी साङ्गठनिक सङ्घर्ष, चुनावी अनुभव र प्रादेशिक संसदीय अभ्यासको जगमा अडिएका नेता खगराज भट्ट अन्ततः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका छन्।
नवनियुक्त मुख्यमन्त्री भट्टले शुक्रबार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा प्रदेशको कार्यकारी प्रमुखको पदभार ग्रहण गर्दैछन। मुख्यमन्त्रीमा नियुक्त पछि उनले सुदूरपश्चिमको समग्र विकास, सुशासन, सामाजिक न्याय, कृषि, पर्यटन र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।