डडेल्धुरा - डडेल्धुराको भागेश्वर गाउँपालिका-४ सान गाउँका युवाहरू यतिबेला व्यावसायिक कफी खेतीतर्फ आकर्षित भएका छन्। कफी खेतीबाट दीर्घकालीन आम्दानीको सम्भावना देखेपछि स्थानीय युवाहरूले व्यावसायिक रूपमा कफी खेतीको सुरुवात गरेका हुन्।
स्थानीय राजेन्द्र भण्डारी र अन्य ३ जनाको युवा समूहद्वारा सञ्चालित ‘सान एग्रो इस्टेट फर्म’ ले व्यावसायिक रूपमा कफी खेती थालनी गरेको छ। फर्मले हालै अरेबिका जातको २ हजार बिरुवा रोपेको छ। जिल्लामै यति ठूलो मात्रामा एकैपटक कफी बिरुवा रोपिएको यो पहिलो पटक भएको सञ्चालक भण्डारी बताउँछन्।
फर्ममा राजेन्द्र भण्डारी, दिक्षित भण्डारी, निकिन चटौत र निश्चल चटौतको संयुक्त लगानी रहेको छ। करिब ८-९ महिनाको अध्ययन र पूर्वतयारीपछि रोपिएका उक्त बिरुवाका लागि फर्मले खाडल खन्ने मेसिन, प्राङ्गारिक मल (२० क्विन्टल गड्यौला मल) र छहारी व्यवस्थापनमा विशेष ध्यान दिएको छ। कफीसँगै फर्मले हालै ५० वटा आँप, २५ वटा लिची र ३० वटा कागतीका बिरुवा पनि रोपेको छ।
कफी खेतीलाई प्रवर्द्धन गर्न कृषि विकास निर्देशनालयबाट १ हजार बिरुवा र कृषि ज्ञान केन्द्र डडेलधुराका कार्यालय प्रमुख नरेन्द्र पनेरुको विशेष पहलमा थप १ हजार बिरुवा उपलब्ध गराइएको भण्डारीको भनाइ छ। कार्यालय प्रमुख पनेरुका अनुसार, ज्ञान केन्द्रले बिरुवाका अतिरिक्त अनुदान, खाल्टा खन्ने मेसिन, पाइप र प्राङ्गारिक मल व्यवस्थापनमा समेत प्राविधिक तथा भौतिक सहयोग गर्दै आएको छ।
व्यावसायिक कफी खेती सुरु गरेका किसानहरूका सामु बिरुवाको संरक्षण र छहारी व्यवस्थापन प्रमुख चुनौतीको रूपमा देखिएको छ। "बर्खायाममा बिरुवा हुर्काउन र घामबाट बचाउन ५ फिटको उचाइमा परालको छहारी बनाउने काम भइरहेको छ," सञ्चालक भण्डारीले भने।
१ वर्षका बिरुवा लगाएका किसानहरूले ३ वर्षपछि उत्पादन लिन सकिने अपेक्षा गरेका छन्। अरेबिका जातको कफी ५ फिटसम्म अग्लो हुने र यसले एक पटक रोपिसकेपछि करिब २५ वर्षसम्म निरन्तर उत्पादन दिने हुनाले यसको भविष्य उज्ज्वल रहेको उनिहरु बताउँछन् । साथै, भण्डारीले उत्पादनपछिको बजारीकरण र प्रशोधनका लागि कृषि ज्ञान केन्द्रबाट आगामी दिनमा पनि थप सहयोगको अपेक्षा गरेका छन्।
डडेलधुरामा कफीको उपयुक्त हावापानी र जमिन रहेका कारण पनि हाल अन्य किसानहरूले समेत आफ्नो जग्गामा कफी विस्तार गर्न थालेका छन्। किसान राजेन्द्र भण्डारीले समेत करिब २५ रोपनी क्षेत्रफलमा कफी खेती सुरु गरिसकेका ले पछिल्लो समय बजारमा कफीको बढ्दो माग र कृषि निकायको हौसलाले डडेलधुराका युवा किसानहरू उत्साहित देखिएका छन्।
डडेल्धुरा जिल्लाको भौगोलिक बनावट, हावापानी र माटोको अवस्था कफी खेतीका लागि उत्कृष्ट मानिन्छ। विशेषगरी मध्य पहाडी क्षेत्रमा ‘अरेबिका’ जातको कफीको उत्पादन र गुणस्तरले अन्तर्राष्ट्रिय बजारमा उच्च स्थान बनाउँदै आएको छ। पछिल्लो समय कृषिमा आधुनिकीकरण र व्यावसायिकताको लहर चल्दै गर्दा, परम्परागत खेती प्रणालीलाई प्रतिस्थापन गर्दै कफी खेती युवा पुस्ताको रोजाइमा पर्नु निकै उत्साहजनक छ।
कफी खेतीलाई 'सेतो सुन' को रूपमा लिइन्छ। कम जग्गामा पनि उच्च मूल्यको उत्पादन लिन सकिने भएकाले यो साना किसानका लागि आयआर्जनको प्रमुख स्रोत बनेको छ। नेपालको कफीले विश्व बजारमा अर्गानिक र उच्च गुणस्तरीयको छवि बनाएको छ, जसले गर्दा निर्यातबाट वैदेशिक मुद्रा आर्जन गर्न ठूलो मद्दत पुग्छ। साथै, ग्रामीण क्षेत्रमा प्रशोधन केन्द्रहरू स्थापना हुँदा स्थानीयस्तरमै स्वरोजगारका अवसरहरू सिर्जना भई विदेशिने युवा जनशक्तिलाई स्वदेशमै रोक्न यसले महत्त्वपूर्ण भूमिका खेल्छ।
कफी खेती अन्य बालीको तुलनामा वातावरणीय दृष्टिकोणले निकै प्रभावकारी छ। यो एक 'छायामुखी' बाली भएकाले यसले वनजंगलको संरक्षणमा मद्दत गर्दछ। कफीका बोटहरूले माटोको कटाव रोक्न, जलस्रोतको संरक्षण गर्न र जैविक विविधता जोगाउन महत्त्वपूर्ण योगदान पुर्याउँछन्। यसले जलवायु परिवर्तनका नकारात्मक असरहरूलाई कम गर्न र कार्बन उत्सर्जन घटाउन सहयोग पुर्याउँछ, जुन वातावरणीय स्थायित्वका लागि अपरिहार्य छ।
कफी खेतीको प्रभावकारिता यसको दीर्घकालीन उत्पादन क्षमतामा निहित छ। एक पटक रोपिएको बोटले उचित स्याहार पाएमा २५ वर्षभन्दा बढी समयसम्म फल दिने हुनाले यो एक दीर्घकालीन लगानी पनि हो।