खुला रूपमा उपलब्ध च्याटजीपीटीलाई अब एन्ड्रोइड स्मार्टफोनमा सशक्त बनाउँदै प्रयोगकर्ताको फोनमाथि गहिरो नियन्त्रण दिने तयारी भइरहेको छ । हाल एन्ड्रोइड सिस्टममा च्याटजीपीटीलाई डिफल्ट डिजिटल असिस्टेन्टका रूपमा राख्न सकिने भए पनि यसको प्रयोग अहिलेसम्म केवल आवाजमा आधारित संवाद र टेक्स्ट जवाफमा मात्र सीमित थियो ।
तर, एन्ड्रोइड एपको पछिल्लो संस्करण ‘१.२०२६.३२८’ को कोडमा फेला परेका विवरणहरूले यसको डेभलपर कम्पनी ओपनएआईले प्रयोगकर्ताको फोनका मुख्य प्रणालीहरू सञ्चालन गर्न सक्ने गरी च्याटजीपीटीलाई विकास गरिरहेको संकेत गरेका छन् ।
उक्त एपको कोडभित्र फेला परेका ‘पर्मिसन’ सम्बन्धी विवरणहरूका अनुसार, च्याटजीपीटीले अब प्रयोगकर्ताको कन्ट्याक्ट सूची हेर्ने, हालै गरिएका फोन कलको विवरण (कल हिस्ट्री) पढ्ने, प्रयोगकर्ताले निर्देशन दिएपछि आफैं फोन कल लगाउने तथा टेक्स्ट मेसेजहरू (एसएमएस) पढ्ने र पठाउने सुविधा पाउनेछ ।
यद्यपि, प्रयोगकर्ताको गोपनीयता र सुरक्षालाई ध्यानमा राख्दै यी सबै सुविधा प्रयोग गर्नका लागि प्रयोगकर्ता स्वयंले सुरुमा सम्बन्धित पर्मिसन प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसैगरी, च्याटजीपीटीलाई प्रयोगकर्ताको फोनमा बजिरहेको गीत वा अडियो/भिडिओ सामग्री पत्ता लगाउन र त्यसलाई नियन्त्रण गर्न सक्ने गरी समेत तयार पारिँदैछ । यसका लागि एपले एन्ड्रोइडको ‘नोटिफिकेसन एक्सेस’ को उपयोग गर्नेछ, जसको सहायताले बजिरहेको ट्रयाकलाई रोक्न (पज), पुनः सुरु गर्न (रिज्युम) वा अर्को ट्रयाकमा जान (स्किप) सकिनेछ ।
तर, यसमा एउटा सीमितता भने रहनेछ । रिपोर्ट अनुसार च्याटजीपीटीले आफैं नयाँ म्युजिक एप खोल्न वा कुनै नयाँ गीत सुरु गर्न सक्नेछैन, यसले पहिलेदेखि नै चालु रहेको मिडिया सेसनलाई मात्र नियन्त्रण तथा पुनः सुचारु गर्न सक्नेछ ।
च्याटजीपीटीमा फोनको स्क्रिनमा हाल के देखिइरहेको छ भनी हेर्न सक्ने र त्यसैलाई सन्दर्भ बनाएर प्रयोगकर्ताका प्रश्नहरूको उत्तर दिने क्षमता पनि थपिने भएको छ । यसका लागि एपको कोडमा ‘युज स्क्रिन एन्ड एप डेटा’ नामक एउटा टगल बटन भेटिएको छ । यस प्रणालीले प्रयोगकर्ताले स्क्रिनमा देखिएको विषयबारे सोध्ने हरेक पछिल्ला प्रश्नहरूका लागि डिस्प्लेलाई नयाँ सिरेबाट विश्लेषण गर्नेछ ।
यसबाहेक, अन्य अनुमतिहरूमा ‘डट कार्ड’ को समेत उल्लेख गरिएको छ, जसले च्याटजीपीटीको ‘डट्स’ एजेन्ट प्रणालीतर्फ संकेत गर्छ । ‘डट्स’ त्यस्ता स्वचालित एआई एजेन्ट हुन्, जसले प्रयोगकर्ताले एप खोलेर नराखे पनि ब्याकग्राउन्डमा आफैं विभिन्न कार्य सम्पादन गर्न सक्छन् ।
कोडमा फेला परेका ‘अलाउडह्वाइललक्ड’ (allowedWhileLocked) र ‘युजडटएजअसिस्टेन्ट’ (useDotAsAssistant) जस्ता दुई कन्फिगरेसन फ्ल्यागहरूले फोन लक भएको अवस्थामा समेत ‘डट’ प्रयोग गर्न सकिने वा यसलाई टुलको मुख्य डिजिटल असिस्टेन्टकै रूपमा समेत सेट गर्न सकिने सम्भावना देखाएका छन् ।
यी सबै नयाँ सुविधा प्रयोगकर्ताका लागि कहिलेदेखि औपचारिक रूपमा सार्वजनिक हुन्छन् वा यी सम्पूर्ण फिचर अन्तिम संस्करणमा समावेश हुन्छन् कि हुँदैनन् भन्नेबारे ओपनएआईले हालसम्म कुनै निश्चित मिति वा आधिकारिक घोषणा भने गरेको छैन ।