डोटी । नेपाली समाजका कतिपय ग्रामीण भेगमा अझै पनि जातीय विभेद र छुवाछुतका अवशेषहरू देखिने गरेका छन् । मठमन्दिर प्रवेशदेखि धार्मिक अनुष्ठानसम्म जातीय आधारमा विभेद हुने गरेका समाचार आइरहँदा डोटीको एक देवस्थलले भने पुस्तौँदेखि सामाजिक सद्भाव, समानता र समावेशीकरणको अनुपम उदाहरण प्रस्तुत गर्दै आएको छ ।
डोटीको शिखर नगरपालिका–२, कालागाडस्थित ‘सालमुनी देउता’ को थानमा पुस्तौँदेखि दलित समुदायका व्यक्तिहरूले मुख्य पुजारीका रूपमा पूजाआराधना गर्दै आएका छन् । बाहिरबाट हेर्दा सामान्य थानजस्तो देखिने यो देवस्थल सुदूरपश्चिमको लोकआस्था, मौलिक परम्परा र सामाजिक एकताको बलियो धरोहर बनेको छ ।
मन्नो पार्कीबाट सुरु भएको समावेशी परम्परा
स्थानीय लोकमान्यताअनुसार सालमुनी देउताको पूजाआराधना सबैभन्दा पहिले विश्वकर्मा समुदायका मन्नो पार्की ले सुरु गरेका थिए । निस्सन्तान रहेका पार्कीको मृत्युपश्चात् पनि यो देवस्थलको पूजापरम्परा रोकिएन । उनकै पदचाप पछ्याउँदै दलित समुदायकै व्यक्तिहरूले पुजारीको जिम्मेवारी सम्हाल्दै आएका छन्, जुन परम्परा आजसम्म पनि निरन्तर चलिरहेको छ ।
भगवान्को दरबारमा जातको होइन, आस्था र विश्वासको मूल्य हुन्छ भन्ने सन्देश सालमुनी थानले व्यवहारतः स्थापित गरेको छ । सुदूरपश्चिमका विभिन्न गाउँठाउँमा समेत सालमुनीको ‘दिशा लाउने ठाउँ’ अर्थात् थान र मन्दिरहरू रहेका छन् । दुःखकष्ट पर्दा, पारिवारिक सुखशान्तिको कामना गर्दा वा विशेष मनोकामना पूरा होस् भनेर भाकल गर्न स्थानीयहरू यही थानको शरणमा पुग्ने गर्छन् । भक्तजनहरूले थानमा धुपदीप बाल्ने, भेटी चढाउने र भाकल पूरा भएपछि पुनः थानमै आएर पूजा गर्ने प्रचलन छ ।
प्रसादमा नुन नपुगे वा काँचो भए पनि गुनासो गर्न नपाइने नियम
सालमुनी देउताको पूजाविधि जति समावेशी छ, यहाँको धार्मिक नियम उति नै रोचक र अनौठो छ । यस थानमा मनोकामना पूर्तिका लागि बोकाको बलि दिने चलन छ । बलि दिइएको बोकाको मासुलाई देउताको प्रसादका रूपमा पकाएर खाने गरिन्छ ।
तर, स्थानीय धार्मिक विश्वासअनुसार उक्त प्रसाद खाँदा ‘नुन पुगेन’, ‘राम्ररी पाकेन’ वा ‘मिठो भएन’ जस्ता कुनै पनि गुनासो वा आलोचना गर्न पाइँदैन । प्रसादमा खोट लगाइएमा वा देउताको प्रसादलाई सम्मान नगरिएमा देउता रिसाउने र प्रायश्चितस्वरूप पुनः अर्को बलि दिनुपर्ने जनविश्वास रहिआएको छ । यही विश्वासका कारण भक्तजनहरूले जस्तोसुकै स्वादमा पाकेको भए पनि प्रसादलाई भक्तिभावका साथ ग्रहण गर्छन् ।
पारिवारिक विश्वास र सत्यताको कसी
सालमुनी देउताको महिमा केवल मन्दिरको पूजाआजामा मात्र सीमित छैन, यो स्थानीय बासिन्दाको दैनिक जीवन र सामाजिक नैतिकतासँग पनि गहिरो गरी जोडिएको छ । विशेषगरी श्रीमान्–श्रीमतीबीचको आपसी विश्वास र इमानदारिता कायम राख्न सालमुनी देउताको नाममा कसम खाने वा भाकल गर्ने चलन छ ।
कुनै विवाद वा शङ्का उत्पन्न हुँदा सत्यता प्रमाणित गर्न स्थानीयले सालमुनी देउतालाई साक्षी राखेर कसम खाने गर्छन् । देउताको नाममा झुटो कसम खानु हुँदैन भन्ने सामाजिक मान्यताले समुदायमा अनुशासन र आपसी विश्वास बलियो बनाउन मद्दत पुर्याएको छ ।
ओझेलमा परेको सांस्कृतिक पर्यटनको सम्भावना
कुनै पनि देवस्थलको महत्त्व त्यहाँको भव्य भवनले मात्र होइन, त्यहाँ जोडिएको जनआस्था, पुस्तान्तरण भएको संस्कृति र त्यसले समाजलाई जोड्ने सामर्थ्यले निर्धारण गर्छ । डोटीको पर्यटन प्रवर्द्धनको चर्चा गर्दा खप्तड, शैलेश्वरी, बडीकेदार र भागेश्वरजस्ता प्रसिद्ध क्षेत्रहरूको नाम अग्रपङ्क्तिमा आउँछ ।
तर, शिखर नगरपालिका–२ स्थित सालमुनी थानजस्ता मौलिक कथा र सामाजिक सद्भाव बोकेका स्थानीय देवस्थलहरूलाई पनि पर्यटन मार्गसँग जोड्न सके डोटीको सांस्कृतिक तथा धार्मिक पर्यटनले थप उचाइ लिन सक्छ । स्थानीय सरकार र सरोकारवाला निकायले यस्ता जीवन्त सम्पदाको संरक्षण र प्रचारप्रसारमा ध्यान दिनु आवश्यक देखिन्छ ।