नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढीको ठगी तथा संगठित अपराध प्रकरणको अनुसन्धान तीव्र पारेसँगै मुलुकको राजनीति र प्रशासनिक वृत्तमा नयाँ तरङ्ग पैदा भएको छ। सन् २०१८ अक्टोबर २९ मा नेपाल र मलेसियाबीच भएको द्विपक्षीय श्रम सम्झौताले श्रमिकको स्वास्थ्य परीक्षणलगायतका शुल्क रोजगारदाताले व्यहोर्ने वा पहिलो महिनाको तलबसँगै फिर्ता गर्ने व्यवस्था गरेको थियो। तर सीआईबीको प्रारम्भिक अनुसन्धानले सम्झौताविपरीत ७ लाख ५० हजार ९८८ जना नेपाली श्रमिकबाट बायोमेडिकल सेवा शुल्कका नाममा प्रतिव्यक्ति अतिरिक्त १०० मलेसियन रिंगेट (करिब ३ हजार १६४ रुपैयाँ) असुलिएको र म्याक्रोटेक प्रालिमार्फत १७ पटकमा १ अर्ब ६९ करोड २ लाख रुपैयाँभन्दा बढी रकम मलेसियास्थित बेस्टिनेट कम्पनीमा पठाइएको देखाएको छ।
यस प्रकरणमा सीआईबीले म्याक्रोटेकका सञ्चालक कैलाश खड्का, पूर्व श्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा पूर्व श्रमसचिव विनोद केसीसहित एक दर्जन व्यक्तिलाई पक्राउ गरिसकेको छ भने मंसिर १० गते विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पूर्वमुख्यसचिव एवं तत्कालीन श्रमसचिव एकनारायण अर्याललाई समेत नियन्त्रणमा लिएको छ। अनुसन्धानको दायरा उच्च प्रशासनिक तहसम्म पुगिरहँदा पनि सोही अवधिमा श्रममन्त्री रहेका वर्तमान प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल र पूर्वमन्त्री शरतसिंह भण्डारीमाथि अनुसन्धान अघि नबढेको विषयलाई लिएर सार्वजनिक वृत्त र सञ्चारमाध्यममा प्रश्न उठ्न थालेका छन्।
मलेसिया रोजगारीको निर्णय प्रक्रियामा आठ जना श्रममन्त्रीको कार्यकाल जोडिए पनि दुई जनामात्र पक्राउ पर्नुले अनुसन्धान 'छानीछानी' भइरहेको हो कि भन्ने आशङ्का उब्जाएको छ। वर्तमान सभामुख डीपी अर्याल सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेता हुनु र पूर्वमन्त्री शरतसिंह भण्डारी वर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठका ससुरा हुनुले अनुसन्धान प्रभावित भएको हुन सक्ने राजनीतिक टीकाटिप्पणी भइरहेको छ।
विगतमा २०७६ सालमा तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि गम्भीर आरोप लाग्दा तत्कालीन सत्तारूढ दलले राजीनामा गराई कानुनी प्रक्रियाका लागि मार्गप्रशस्त गरेको उदाहरण स्मरण गर्दै विश्लेषकहरूले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकार र रास्वपा नेतृत्वका लागि आफ्नै वृत्तका व्यक्तिमाथि निष्पक्ष छानबिन गराउनु सुशासनको वास्तविक परीक्षा बनेको टिप्पणी गरेका छन्।
अर्कोतर्फ,रकम विदेश पठाउने प्रक्रियामा मन्त्रीहरूको संलग्नताको कानुनी र प्रशासनिक पाटो फरक देखिएको छ। सीआईबीको छानबिनमा पूर्वमन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवरले दुई–दुईपटक प्रत्यक्ष मन्त्रीस्तरीय निर्णय नै गरेर रकम पठाउन स्वीकृति दिएको भेटिएको छ भने २०७९ माघ ३ गते श्रममन्त्री बनेका डीपी अर्यालको २२ दिने कार्यकालमा (माघ ५ गते) करिब ९ लाख डलर मलेसिया पठाइँदा नयाँ मन्त्रीस्तरीय निर्णय नभई कुँवरकै पालाको निर्णयअनुसार राष्ट्र बैंकलाई पत्राचार भएको देखिएको छ। त्यस्तै, शरतसिंह भण्डारीको कार्यकालमा पाँचवटा कारोबारमार्फत रकम पठाइएको र बायोमेडिकल शुल्क ९ हजार ५०० रुपैयाँसम्म पुगेको तथ्य बाहिरिए पनि श्रम मन्त्रालयबाट गायब पारिएका भनिएका कतिपय महत्त्वपूर्ण निर्णयका फाइलहरू मंसिर ११ गतेमात्र फेला परेर सीआईबीलाई बुझाइएकाले प्रमाण संकलनको चरण बाँकी नै रहेको अनुसन्धान अधिकारीहरूको भनाइ छ।
यसैबीच, पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेकै दिन मंसिर १० गते रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच बूढानीलकण्ठमा करिब पाँच घण्टा लामो भेटवार्ता भएपछि राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएका छन्। कतिपय राजनीतिक टिप्पणीकारहरूले अर्यालको पक्राउ र आगामी संवैधानिक नियुक्तिलाई जोडेर सरकार र पार्टी नेतृत्वबीच खटपट सुरु भएको दाबी गरे पनि सभापति लामिछानेको सचिवालयले उक्त भेटवार्ता आत्मीय र सौहार्दपूर्ण रहेको तथा छलफल मुख्यतः सरकारको कार्यसम्पादन, आगामी संसद् अधिवेशन, अध्यादेश र प्रधानमन्त्रीको हालैको भारत भ्रमणमा केन्द्रित रहेको स्पष्ट पारेको छ।
हराएका फाइलहरू सीआईबीको हातमा पुगेसँगै अबको अनुसन्धानले प्रमाणका आधारमा सभामुख अर्याल, पूर्वमन्त्री भण्डारी र राष्ट्र बैंकका अधिकारीहरूसम्मको भूमिका कसरी केलाउँछ भन्ने कुराले नै सरकारको सुशासनको दाबी र सीआईबीको व्यावसायिक निष्पक्षताको टुङ्गो लगाउने देखिन्छ।