डडेल्धुरा - रसुवाको बाढीले कसैको घर बगायो, कसैको सपना बगायो, कसैको परिवार बगायो। कोही आज पनि आफ्ना हराएका आफन्तको खोजीमा नदी किनारमा आँखा बिछ्याएर बसेका छन्। कोही सरकारी उद्धारको प्रतीक्षामा दिन गन्दैछन्।
यस्तै पीडाको बीचमा एउटा दृश्यले झन् गहिरो प्रश्न जन्माएको छ—काखमा नाबालक बोकेर बेपत्ता श्रीमानको खोजीमा भौंतारिएकी एक महिलाले सञ्चारमाध्यममार्फत आफ्नो पीडा पोखिरहेकी छन्। उनको आवाजमा आक्रोश छ, आँसु छ, निराशा छ। त्यो आक्रोश सरकारविरुद्ध हुन सक्छ, उद्धारमा भएको ढिलाइप्रति हुन सक्छ। तर त्योभन्दा ठूलो कुरा—त्यो एउटी पीडित श्रीमतीको चित्कार हो।
तर सामाजिक सञ्जालको एउटा हिस्साले त्यो चित्कार सुन्नुको सट्टा उनलाई गाली गर्यो। अश्लील, निम्नस्तरका र फोहोर शब्दले आक्रमण गर्यो। सरकारको बचाउ गर्न एउटा पीडित महिलामाथि यति तल झर्नुपर्ने हो?
राजनीतिक आस्था मानिसको अधिकार हो। तर राजनीतिक आस्थाले मानवीय संवेदना मार्ने लाइसेन्स दिँदैन। सरकारको बचाउ गर्न सकिन्छ। उद्धारमा सरकारको भूमिकाको समर्थन गर्न सकिन्छ। सरकारमाथि लगाइएका आरोपको तथ्यसहित प्रतिवाद गर्न सकिन्छ। तर एउटा नाबालकलाई काखमा च्यापेर हराएको श्रीमान खोजिरहेकी महिलालाई गाली गरेर कुन सरकारको प्रतिष्ठा जोगिन्छ?
बरु प्रश्न उल्टो उठ्छ—सरकार यति कमजोर छ कि उसको बचाउ गर्न अब पीडितकै चरित्र, पीडा र मातृत्वमाथि प्रहार गर्नुपर्ने अवस्था आयो?
अझ गम्भीर प्रश्न सामाजिक सञ्जालमा देखिएको त्यो भीडतर्फ छ।
यी मानिसहरू को हुन्? कुनै दलका समर्थक हुन्? रास्वपाका समर्थक हुन्? सत्तापक्षका समर्थक हुन्? वा केवल भीडको मानसिकतामा बगेर अरूको दुःखमा मनोरञ्जन खोज्नेहरू हुन्?
कसैलाई प्रमाणबिना कुनै दलको कार्यकर्ता वा समर्थकको ट्याग लगाउन सकिन्न तर यदि कुनै राजनीतिक दलको समर्थनकामा पीडितलाई गाली गर्ने प्रवृत्ति मौलाइरहेको छ भने त्यो सम्बन्धित दलका लागि पनि गम्भीर आत्मसमीक्षाको विषय बन्ने कि नबन्ने ?
राजनीतिक दलको समर्थक हुनु भनेको विवेकलाई पार्टी कार्यालयमा बुझाउनु होइन। आज पीडित महिला गाली खाइरहेकी छन्। भोलि यही भीडले अर्को पीडितलाई गाली गर्नेछ। पर्सि हाम्रो आफ्नै घरको मान्छे संकटमा पर्दा यही सामाजिक सञ्जालको भीड हाम्रो ढोकामा उभिन सक्छ।पीडितलाई प्रश्न गर्नुअघि उसको ठाउँमा आफूलाई राखेर हेर्ने संस्कार हामीले कहिले सिक्ने?
सरकारले पनि यो दृश्यलाई केवल सामाजिक सञ्जालको विवाद ठानेर मौन बस्न मिल्दैन। उद्धारमा कमजोरी छ भने सुधार गर्नुपर्छ। ढिलाइ भएको छ भने जवाफ दिनुपर्छ। पीडितले राज्यसँग प्रश्न गरेको छ भने राज्यले गालीको भाषा होइन, जवाफको भाषा बोल्नुपर्छ।
किनकि सरकारको शक्ति आलोचकलाई चुप लगाउनुमा होइन, आलोचना सुनेर संकटमा परेकाको हात समात्नुमा हुन्छ।
र राजनीतिक दलहरूले पनि आफ्ना समर्थकको यस्तो आचरणमा ताली बजाउने होइन, लगाम लगाउनुपर्छ।
बाढीले मान्छेको शरीर बगाउन सक्छ, तर हाम्रो संवेदना पनि बगाएर लैजानु हुँदैन। एउटी आमाको काखमा रहेको बच्चाले कुनै पार्टी चिन्दैन। उसले सरकार चिन्दैन, प्रतिपक्ष चिन्दैन, विचारधारा चिन्दैन। उसले केवल आफ्नो बुबा खोजिरहेको हुन्छ।
त्यसैले आजको सबैभन्दा कठोर प्रश्न यही हो हराएको श्रीमानको खोजीमा रोइरहेकी महिलामाथि गाली बर्साएर हामी आखिर कसको पक्षमा उभिएका छौँ—सरकारको, पार्टीको, कि आफ्नै अमानवीयताको?
सरकारको बचाउ गर्न सकिन्छ।
तर मान्छे भएर।