विषय : कुर्सीमा टाँसिनुभन्दा जनमतको सम्मान गर्दै अविलम्ब राजीनामा दिन खुला आह्वान ।
माननीय मुख्यमन्त्रीज्यू,
नमस्कार।
आज यो पत्र कुनै राजनीतिक स्वार्थ वा पूर्वाग्रहले प्रेरित भएर होइन, सुदूरपश्चिमका नदीहरूमा उर्लिएको बाढी, डाँडाकाँडामा खसेको पहिरो, अनि बजेट र नीतिको अभावमा ठप्प बनेको प्रदेशको प्रशासनिक एवं विकास निर्माणको गतिहीनता देखेर दुःखेको एउटा सचेत नागरिकको हृदयबाट लेखिँदैछ ।
लोकतन्त्रको सुन्दरता संख्याको खेलमा मात्र होइन, उच्च नैतिक आचरण र जनभावनाको कदर गर्नुमा रहन्छ । तर, आज सुदूरपश्चिमको सत्ता राजनीति इतिहासकै असम्पादनशील र निराशाजनक मोडमा उभिएको छ । प्रदेश सभामा प्रष्ट बहुमत भएका दलहरू नेकपा र नेकपा (एमाले) बीच संयुक्त सरकार सञ्चालनको स्पष्ट सहमति भई तपाईँको सरकार स्पष्ट अल्पमतमा परिसकेको छ । संसद्मा बहुमत सिद्ध गर्ने वा विश्वासको मत पाउने कुनै सम्भावना छैन भन्ने कुरा दिवास्वप्नजस्तै छर्लङ्ग भइसकेको छ ।
अझ दुःखी बनाउने कुरा त के छ भने, प्रदेश सभाबाट समयमै बजेट पारित हुन नसकेर ‘बजेट होलिडे’ को गम्भीर अवस्था सिर्जना भएको छ । एकातिर विपद्को यो कहर छ—जहाँ बाढी, पहिरो र डुबानले जनताको जीवन अस्तव्यस्त छ । अर्कोतिर विपद् व्यवस्थापन र राहतका लागि खटिनुपर्ने प्रदेश सरकार बजेटविहीन र दिशाहीन बनेको छ ।
बजेट पास नहुँदा त्यसको प्रत्यक्ष असर तल्ला तहसम्म परेको छ । स्थानीय पालिकाहरूमा प्रदेश समपूरक अनुदानमा कति बजेट विनियोजन गर्ने हो, भन्नेमा अन्यौलता सिर्जना भएको छ । आगामी माघदेखि स्थानीय निर्वाचनको आचारसंहिता लाग्ने चर्चा छ भने यही आर्थिक वर्षभित्रै प्रदेश निर्वाचनसमेत गर्नुपर्ने परिदृश्य देखिँदैछ । यस्तो अवस्थामा बजेट कहिले निर्माण हुने कहिले पास हुने अनि कहिले कार्यान्वयनमा जाने ? विकास बजेट खर्च नै हुन नसकी सिङ्गो प्रदेश प्रणाली नै असफल हुने गम्भीर खतरा उत्पन्न भएको छ । यदि यो सङ्कट लम्बिँदै गयो र प्रदेश असफल भयो भने, त्यसको कलङ्कको टीका इतिहासमा तपाईँकै निधारमा लाग्ने निश्चित छ ।
“नेतृत्व त्यो हो जसले सत्ताको मोहभन्दा माथि उठेर समयको पदचाप बुझ्न सक्छ । पद पाउनु योग्यता होला, तर सही समयमा मार्गप्रशस्त गर्नु उच्च राजनीतिक संस्कार हो ।”
आजको युवापुस्ता अर्थात् जेन्जी (Gen Z) आन्दोलनको मर्म र स्पिरिट भनेकै उत्तरदायी राजनीति, पारदर्शी शासन र जनमुखी नैतिकता हो । तर, विश्वासको मत पाउने आधार गुम्दा पनि कुर्सीमा टाँसिरहने यो शैलीले जेन्जीको मर्ममाथि मात्र होइन, लोकतान्त्रिक मूल्य–मान्यतामाथि नै ठूलो व्यङ्ग्य गरिरहेको छ ।
मुख्यमन्त्रीज्यू, पद आफैँमा अन्तिम सत्य होइन । पद त जनताको सेवा गर्ने माध्यम मात्र हो । जब माध्यम नै अवरुद्ध हुन्छ, तब कुर्सीमा अडिनुको औचित्य सकिन्छ ।
अतः, सुदूरपश्चिमका बाढीपीडित जनताको घाउमा मलम लगाउन, स्थानीय पालिकाको अन्यौलता चिर्न, बजेटको गतिरोध अन्त्य गरी प्रदेशलाई पुनः गतिशीलता दिन र लोकतान्त्रिक मर्यादाको रक्षाका लागि तुरुन्त र अविलम्ब मुख्यमन्त्री पदबाट राजीनामा दिनुहोस् ।
तपाईँको एउटा विवेकपूर्ण राजीनामाले प्रदेशलाई निकास दिनेछ र इतिहासमा तपाईँको नैतिकताको सम्मान रहनेछ । कुर्सी छाड्नु हार होइन, जनता र संविधानप्रतिको इमान्दारिता हो ।
तिलक माल
सद्बुद्धि र मार्गप्रशस्तताको अपेक्षासहित ।
धन्यवाद ।