डडेल्धुरा: पहाडको जमिन बाँझै राखि युवाहरू विदेशिने आम परिपाटी र बाध्यता का बिच चिन्ता बढिरहेको परिवेशमा डडेल्धुराका एक पूर्वशिक्षकले आफ्नै माटोमा कृषि क्रान्तिको सपना बुन्दै साकार पार्दै उदाहरणीय काम गर्नुभएको छ।
जिल्लाको अमरगढी नगरपालिका–९ का कमल सिंह झुकालले सञ्चालन गर्नुभएको 'श्री गाडलेक बहुउद्देश्यीय कृषि फार्म' यतिबेला धेरैका लागि प्रेरणाको स्रोत बनेको छ। शिक्षण पेसाबाट अवकाश लिएपछि आफनै खेत बारिमा केही गर्ने अठोटका साथ ५–६ वर्षअघि सामान्य रूपमा थालनी गरिएको यो फार्मले अहिले व्यावसायिक रूप लिएको छ।
फार्मको विस्तारका लागि उहाँले अमरगढी नगरपालिकाको वडा नम्बर ८ र ९ को सिमानामा रहेको २० देखि २२ जना स्थानीयहरुको छरिएको ७० रोपनी जमिनलाई एकमुष्ट रूपमा खरिद गरी एकीकृत खेतीको थालनी गर्नुभएको हो। आधुनिक प्रविधि र मिहिनेतले अहिले यो पाखाबारी हराभरा बनेको छ।
यस फार्ममा मौसमी तथा बेमौसमी तरकारीका साथै किबि,सुन्तला, कागती, ओखर र विभिन्न प्रकारका दलहन बालीको उत्पादन हुने गरेको छ। हालै मात्र उहाँले ५०० बोट ओखर र १०० बोट किबि लगाएर थप बिस्तार गर्नुभएको छ भने यहाँ उत्पादन हुने सबै तरकारी पूर्णतः शुद्ध अर्गानिक रहेका छन्।
पहाडी क्षेत्रको सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको सिँचाइ समस्यालाई झुकालले फार्मभन्दा करिब ६–७ सय मिटर तल रहेको खोलाको पानीलाई 'लिफ्ट प्रविधि' (पम्पिङ) मार्फत माथि ल्याई ठूलो पोखरीमा सङ्कलन गर्ने र सोही पानीबाट सिँचाइ गर्ने व्यवस्था मिलाउनुभएको छ। यसले सिँचाइको समस्यालाइ अन्त्य गरेकोको छ। कृषि ज्ञान केन्द्र डडेल्धुरा र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना डडेल्धुराबाट प्राविधिक तथा आर्थिक सहयोग प्राप्त गरिरहनुभएका झुकालले हालसम्म यस फार्ममा करिब २ करोड २० लाख रुपैयाँ व्यक्तिगत लगानी गरिसक्नुभएको छ।
वार्षिक २० लाख रुपैयाँको कारोबार हुने उक्त फार्मबाट खर्च कटाएर ४ देखि ५ लाख रुपैयाँ बचत हुने गरेको छ, जसले स्थानीय ४–५ जनालाई नियमित रोजगारीसमेत दिएको छ।
शिक्षण पेसाबाट अवकाश पाएपछि कृषिमा होमिनुभएका झुकालको यो प्रयासले विदेश नै जानुपर्छ' भन्ने पछिल्लो पुस्ताको मानसिकतालाई परिबर्तन गराउने अपेक्षा गरिएको छ। अथक मेहनत,लगनशीलता,आधुनिक प्रविधी, सिँचाइ र वैज्ञानिक खेती प्रणालीलाई आत्मसात गर्न सके नेपालको बाँझो जमिनबाट पनि सम्मानित र मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरा 'श्री गाडलेक बहुउद्देश्यीय कृषि फार्म' एउटा गतिलो उदाहरण बनेको छ।