डडेल्धुरा - सुदूरपश्चिम प्रदेशकै महत्वपूर्ण धार्मिक आस्था र सांस्कृतिक पहिचानको केन्द्रका रूपमा परिचित घण्टेश्वर देवतालाई संरक्षण र व्यवस्थापन गर्ने उद्देश्यले भाद्र ४ गतेदेखि श्रमदान अभियान सुरु भएको छ। डोटीको जोरायल गाउँपालिका वडा नम्बर–१ र ४ डडेल्धुराको आलिताल गाउँपालिका–१ र डडेल्धुराकै गन्यापधुरा गाउँपालिका–१ को सीमाक्षेत्रमा अवस्थित यस स्थललाई प्रशिद्ध धार्मिक शक्तिपीठका रूपमा मानिँदै आएको छ।
हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन यहाँ विशेष पूजाआजासहित भव्य मेला लाग्ने परम्परा रहिआएको छ। यस अवसरमा स्थानीयवासी मात्र नभई सुदूरपश्चिमका विभिन्न जिल्लाहरू तथा भारतका श्रद्धालु भक्तजनहरूको ठूलो भिड लाग्ने गर्दछ। शिवभक्त र वैष्णव साधकका लागि घण्टेश्वर देवता महत्वपूर्ण दर्शनस्थल मानिन्छ।
मेला व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर मडैका अनुसार यस वर्षको मेलालाई व्यवस्थित बनाउन सडक निर्माण, खानेपानी, शौचालय, मन्दिर सरसफाइ र व्यवसायिक स्टल व्यवस्थापनलगायतका तयारी आवश्यक भएकाले स्थानीय तह, समितिहरू र भक्तजनहरूको सक्रिय सहभागिता अपरिहार्य छ। उनका अनुसार श्रमदान अभियान केवल मेलाको तयारी मात्र नभई ऐतिहासिक सम्पदाको दीर्घकालीन संरक्षणतर्फको महत्वपूर्ण पहल पनि हो।
इतिहासकारहरूको भनाइमा घण्टेश्वर क्षेत्र प्राचीन समयमा शक्तिपीठका रूपमा प्रख्यात थियो। यहाँ भेटिने ढुङ्गाका मूर्ति, लिपि र धार्मिक संरचनाहरूले तत्कालीन कालखण्डमा धार्मिक गतिविधि मात्र नभई सामुदायिक एकता र सांस्कृतिक परिचय झल्काउने तथ्य प्रस्तुत गर्छन्। स्थानीयवासीहरूले पनि यस अभियानलाई पर्यटकीय गन्तव्यको विकासतर्फको अवसरका रूपमा स्वागत गरेका छन्। उनीहरूको विश्वास छ, धार्मिक आस्था र ऐतिहासिक महत्व जोडिएको स्थलको व्यवस्थित विकास गर्न सकिए रोजगारी सिर्जना हुनुका साथै स्थानीय अर्थतन्त्रमा समेत योगदान पुग्नेछ।
घण्टेश्वर देवताको मेलामा जोरायल, आलिताल र गन्यापधुराका विभिन्न गाउँहरूबाट देवताको देउरो ल्याउने परम्परा रहिआएको छ। त्यस्तै मेलामा महिला र पुरुषले छुट्टाछुट्टै समूह बनाएर रातभर देउडा खेल्ने चलन पनि अविच्छिन्न रूपमा चल्दै आएको छ। धार्मिक विश्वासअनुसार भारतको बद्री–केदार हुँदै कैलाश प्रवेश गर्ने क्रममा स्थानीय पासा देवताले रोकेपछि घण्टेश्वर बाबाले यही स्थानलाई बासस्थान बनाएको मानिन्छ। पवित्र मनले उपवास गरी घण्टेश्वर बाबाको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ।
राजा–रजौटाकै पालादेखि मेला खर्च मालपोत कार्यालयमार्फत पठाउने परम्परा रहँदै आएको छ। हाल पनि नेपाल सरकारले पूजा रकम उपलब्ध गराउँदै आएको छ भने मेला व्यवस्थापन समितिबाट नेपाल सरकारलाई घण्टेश्वर देवताको प्रसादका रूपमा तिलख पठाउने चलन निरन्तर कायम छ।
भीमदत्त राजमार्गको हगुल्टेबाट करिब ४ किलोमिटर दुरीमा घनघोर जङ्गलबीच अवस्थित घण्टेश्वर मन्दिरसम्म पुग्न सडक सुविधा उपलब्ध छ। पछिल्लो समयमा वडा, पालिका, प्रदेश र संघ सरकारको सहयोगमा पूर्वाधार विस्तारसँगै मेला क्षेत्र थप आकर्षक बनेको छ। यसैबीच मन्दिर वरपरको वनलाई धार्मिक वनका रूपमा दर्ता गर्ने प्रक्रिया पनि सुरु गरिएको छ। यसका लागि जनप्रतिनिधी, वन कार्यालय, सामुदायिक वनका प्रतिनिधी र सरोकारवालाबीच सर्वसहमति भइसकेको समितिले जनाएको छ।
यस वर्षको श्रमदान अभियान र मेलाले घण्टेश्वर देवतालाई धार्मिक स्थल मात्र नभई ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्पदाको रूपमा सुरक्षित र व्यवस्थित गर्ने लक्ष्य लिएको समितिको भनाइ छ।
