डडेल्धुरा -- डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को सल्लेरी जंगल त्यहाँ जंगलको बिचमा एक थान त्रीपालको छानोमुनी दिनरात विताइरहेका छन् चार युवा। लुम्बिनी प्रदेश,घोराही (दाङ) बाट खोटो निकाल्न यहाँ आएका उनीहरू करिब चार महिनादेखि यही जंगलमा सल्लाको रुख चाहारेर खोटो निकाल्ने काम गर्दैछन्।

उनीहरूमध्ये एक हुन् २१ वर्षीय अमृत थापा। उनीसहितका चारै जना मिल्ने–काका, दाइ र भाइ जस्तै, एउटै परिवारको जस्तो लाग्ने चार मनहरू हुन।
उनको सपना त थियो — विदेश जाने र परिवारको अवस्था सुधार्ने। तर पाँच वर्षअघि विद्यालय छोडेका यी युवाहरू अहिले गन्यापधुराको सल्लेरी जंगलमा टिनका गमलामा खोटो बटुलिरहेका छन्।

एउटा गमला खोटो भरिन ३–४ दिन लाग्छ, त्यो बेच्दा क्विन्टलको मूल्य २२ सय मात्र पाइन्छ। खाना, रासन सबै आफैंले किन्नुपर्छ।
"जंगलको घर" — त्रीपालमुनिको जीवन
न ओछ्यान छ, न त बिजुली। हावाहुरी चल्दा त्रीपाल फाट्ने डर, बर्षायामको समय छ,रातभर रुख ढल्ने चिन्ता, सर्प बिच्छीको त्रास, अनि जंगलको शून्य मौनतामा निदाउनुपर्ने बाध्यता। सुरक्षाका लागि न ग्लोभ, न हेल्मेट, न त दुर्घटना बीमा। गहिरो खाँचो हुँदा सहयोग माग्ने कुनै ‘बटन’ छैन उनीहरूसँग।
दैनिक कमाइ, दिनको पीडा
दिनभर सल्ला रुख चिर्दै, खोटो झार्दै, रुखमा झुण्डिँदै उनीहरू एकदिनमा २५ सयसम्म सल्लाका रुख छिल्ने गर्छन् भने एक दिनमा २४–२६ टिन खोटोको टिनहरु भर्ने टार्गेट पुरा गर्नुपर्छ। हरेक दिन घाउछिलिएका हात,एसिडले पोलेका घाउ, चिलाएको छाला अनि रुख भिरबाट चिप्लने डर। तर पनि “यो पैसा विदेश जाने सपना साकार पार्न हो” भन्ने आशाले अघि बढाउँछ।
तिहारको उज्यालोको आशामा
“तिहारमा काम सकेर घर जाने रे,” अमृत भन्छन्, "कम्तिमा आमा बाबु खुशी हुनुहुन्छ होला भनेर सोचेर काममा लागिराछौं।”
चार जोशिला युवाको साहस, जंगलको कठोर जीवनसँगको लडाइँ र आफ्नै पौरखले केही गर्ने सपना उनिहरुको छ। अहिलेको ग्रामीण यथार्थको, युवाहरूको विवशताको अनि श्रमको मूल्य अझै पनि कति सस्तो छ भन्ने ज्वलन्त उदाहरण पनि हो।