डडेल्धुरा — २१औं शताब्दीमा पनि सुदूरपश्चिमका नागरिक ज्यान जोखिममा राखेर तुइन तर्न बाध्य छन्। पछिल्लो घटना मंगलबार दार्चुलामा घटेको छ। दार्चुला जिल्लाका २८ वर्षीय नारायण बुढाथोकी तुइन चुँडिएर महाकाली नदीमा बेपत्ता भएका छन्।
१० वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई तुइनमुक्त बनाउने घोषणा गरेका थिए। तर त्यो घोषणा अझै पनि भाषणमै सीमित छ भन्ने पुष्टि यो घटनाले फेरि एकपटक गराएको छ।
दार्चुला, बझाङ, बैतडी, डोटी, अछाम जस्ता जिल्लाका नागरिक अझै पनि तुइनकै भरमा जीवन र जोखिमको दोधारमा बाँचेका छन्। सरकारले पानीजहाज, रेलमार्ग, भ्यूटावरजस्ता सपनामाथि अरबौं खर्च गरे पनि नागरिकलाई सुरक्षित यात्रा गर्ने अधिकार अझै सुनिश्चित हुन सकेको छैन।
राज्यले सुशासन, विकास र समृद्धिको कुरा गरिरहँदा कर्णाली, सुदूरपश्चिम जस्ता क्षेत्रका नागरिक तुइनको झुन्ड्याइएका तारमा निर्भर छन्। यहाँ न बाटो छ, न पूल। छ त केवल जनताको आँसु र असहाय बेबसी।
आज पनि दार्चुलामा एक युवा महाकालीमा हराउँदा सरकार मौन छ। तुइन चुँडिएर मान्छे हराउँदा यो दुर्घटना मात्र होइन, राज्यकै चरम लापरवाही हो। यस्तो घटनामा प्रत्यक्ष जिम्मेवार सरकारी निकायमाथि कारबाही हुनु त परै जाओस्, कोही बोल्दैन।
दाबी गरिन्छ — देश समृद्ध हुँदैछ, जनता सुखी हुँदैछन्। तर नारायण बुढाथोकीजस्ता नागरिक अझै पनि तुइनबाट खसिरहेका छन्। सरकारले अर्बौं ऋण लिइरहेको छ, तर नागरिक अझै तुइनको बल भरि महाकाली पार गर्दैछन्।
काठमाडौँको भ्यूटावरले देख्न सक्दैन दार्चुलाको तुइन। राजधानीको सपनाले देख्दैन सुदूरपश्चिमका जनताको रगतपसिनाको पीडा।
अब प्रश्न उठ्छ — के नारायण बुढाथोकीको ज्यान गुमेपछि मात्रै दार्चुलामा तुइन विस्थापित हुन्छ? कति मान्छे मर्नु बाँकी छ सरकार?
तुइन विस्थापन हैन, नागरिकको जीवन विस्थापन भएको छ। विकासका नारा हैन, नागरिकका आँसु र चित्कार सुन।
सुखी नेता, समृद्ध पार्टीका नारामा लुकेको जनताको यस्तो भयानक यथार्थ कहिले अन्त्य हुन्छ?