डडेल्धुरा,- डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ७ अन्तर्गतको बलौंचा बस्ती वर्षायाम लागेसँगै पुनः पहिरोको उच्च जोखिममा परेको छ। पाँच वर्षअघि २०७७ सालको बाढी र पहिरोले घरबार गुमाएका घरपरिवार अझैसम्म पनि सुरक्षित पुनर्स्थापनाको प्रतीक्षामा छन्। भूगर्भविद्हरूले मानव बसोबासका लागि अति जोखिमयुक्त ठहर गरेका यस क्षेत्रका बासिन्दा वर्षेनी चर्किएका घर, टेन्ट र जंगलको साहारामा जीवन गुजार्न बाध्य छन्।
२०७७ सालमा उक्त स्थानमा पुरै गाउँ नै पहिरोले क्षतबिक्षत भएपछी भुगर्भविदको टोलि सहित डडेल्धुराका प्रमुख जिल्ला अधिकारी,आलिताल गाउँपालिका सुरक्षानिकायहरू तथा सरोकारवाला हरुको संयुक्त सिफारिसमा बलौंचा, भाडी, कोइराले, खिन्नेभाडी लगायतका बस्ती भुगर्भिय दृस्ठिकोणले बस्न लाएक नभएको हुँदा ति जोखिमयुक्त बस्तीहरूलाई सोही वडाको मेलगाँजा, रन्तोला, नदिगडा लगायत स्थानमा स्थानान्तरण गर्नुपर्ने सुझाव केन्द्र र प्रदेश सरकारसमक्ष पेश गरिएको थियो। तर, सो सिफारिस अझैसम्म कार्यान्वयनमा आउन सकेको छैन।
आलिताल ७ का वडाध्यक्ष वीर बहादुर बोहरा भन्छन्, “स्थानीय सरकारसँग दीर्घकालीन पुनःस्थापनाको अधिकार छैन। हामीले राहत स्वरूप त्रिपाल, रासन, लत्ताकपडा उपलब्ध गराउँदै आएका थियौं तर दीर्घकालीन समाधानका लागि प्रदेश र संघीय सरकारको अधिकार क्षेत्र भएकोले केन्द्र प्रदेश सरकार नै जिम्मेवार बन्नुपर्छ।”
पहिरोले घर गुमाएका मध्ये ५/६ परिवार भारतको बेंगलोर पलायन भएका छन् भने ४ परिवार अझै पनि भत्किएका चर्किएका घरमै ज्यान जोखिममा राखेर बसिरहेका छन्। ६ परिवार नजिकैको जंगलमा अस्थायी बसोबासमा छन्। ती मध्ये १० परिवार कञ्चनपुरको बनहरा नदी किनारामा सुकुम्बासी जीवन बिताइरहेका छन्।
सानोतिनो वर्षामा पनि पहिरोको त्रास र बाटोघाटो अवरुद्ध हुने समस्याले स्थानीयहरुको जनजीवन थप कष्टकर बन्ने गरेको छ ।
भूगर्भविद्हरूका अनुसार बलौंचा,भाडी,खिन्नेभाडि लगायतका क्षेत्रमा सतहमा ठिकै देखीएपनी जमिनभित्रको भूगर्भीय संरचना अत्यन्त कमजोर छ। जमिन खोक्रो रहेको र जुनसुकै बेला ठूलो प्रकोप आउन सक्ने चेतावनी पनि पटक–पटक दिइसकिएको छ। तर पनि न त प्रदेश सरकारले ध्यान दियो, न संघीय सरकारले न त स्थानीय सरकारले नै ।
स्थानीयहरूले बस्ती सार्न पटक–पटक आन्दोलन गरे, गाउँपालिकाको ढोका ढकढकाए, प्रदेश तथा संघ सरकारसँग गुहार गरे। तर कसैले उनीहरूको पीडामा चासो देखाएनन्। नागरिकको सुरक्षाका लागि राज्य हो भने, यस्तो बखतमा अबिभावकले जस्तो साथ दिनुपर्नेमा उदासीन हुनुले पीडितको पीडा झन बल्झिएको छ।