नेपाली राजनीतिमा फेरि एक पटक ‘जहाँ मौका त्यहीँ माया’ शैली देखिएको छ। केही वर्षअघि केपी शर्मा ओलीमाथि कठोर टिप्पणी गर्दै पार्टी फुटाउने काममा सक्रिय रहेकी रामकुमारी झाँक्री अहिले फेरि त्यही ओलीको हात समाएर एमालेमा फर्किएकी छन्। सिद्धान्त र विचारका कुरा गर्दै सडकदेखि संसदसम्म आवाज उठाउने नेतृको यस्तो उल्टो यात्रा देख्दा, धेरैलाई यो राजनीतिक हैन, अवसरको हावातुफान जस्तो लागेको छ।
माधवकुमार नेपालको नेतृत्वमा गएको बेला उनले “ओलीको अधिनायकवाद” र “महिला नेतृहरूको अवमूल्यन” जस्ता कुरा निकै गर्जिएर बोली थिइन्। तर, अहिले उनी त्यही ओलीको बखतमा माइती फर्किएकी छन्— त्यो पनि कुनै आत्मसमीक्षासँग होइन, सत्ता समीकरणसँग। यो देखेर जनता प्रश्न गर्छन्— राजनीतिमा आदर्श र बफादारी भन्ने कुरा अब केवल भाषणका विषय मात्र त भएनन्?
झाँक्रीसँगै कृष्णकुमार श्रेष्ठलगायतका नेताहरू पनि साथमा देखिएपछि यो ‘फिर्ता अभियान’ व्यक्तिगत भन्दा पनि पद–सुरक्षा र राजनीतिक टिकाउको सम्झौता झैँ देखिन्छ। एमालेले यसलाई ‘पार्टी विस्तार’ भन्दै उत्सव मनाए पनि, धेरैले यसलाई “फिर्ता भएर बिर्ता खोज्ने राजनीति” भनेर जिस्क्याएका छन्।
नेपालको राजनीतिमा यस्तो ‘घुम्ती’ अब नयाँ कुरा रहेन। आज एमाले, भोलि समाजवादी, पर्सि कांग्रेस— नेताहरूका गन्तव्यहरू सिद्धान्त होइन, सम्भावना र सन्देशको बजारले निर्धारण गर्न थालेको छ। त्यसैले जनताले पनि नेताको भाषणभन्दा उनको आचरणको भिडियो क्लिप हेरेर टिप्पणी गर्न थालेका छन्।
रामकुमारी झाँक्री राजनीतिको अग्रपंक्तिमा रहेकी नेतृ हुन्—तर उनको यो फिर्ताले सन्देश के दियो भने, राजनीतिमा विचारभन्दा पनि ठाँट र ठाउँको मूल्य बढी हुने गरेको रहेछ।
अब हेर्न बाँकी छ—फिर्ता भएकी नेतृले एमालेमा नयाँ ऊर्जा भर्नेछिन् कि, पुरानै गुटीय राजनीति र हल्लाको चक्र दोहोर्याउनेछिन्।