डडेल्धुरा, साउन १३- डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ५ तुफानडाँडाको तुफानसरी चिसो हावा,बर्षायामको पानी र उखरमाउलो घाम, यी सबैलाई साक्षी राख्दै ६६ वर्षीय नारायण टमटा आफ्नै धुनमा व्यस्त छन्।
उनको वरिपरि तामाका भाँडा, पित्तलका टुक्राहरू र काठका धर्साहरू छरिएका छन्। उनैको हातले ती निर्जीव वस्तुहरूले नरसिंह बाजा, भोक्कर, कलश र मूर्तिहरूको रूप लिँदैछन्। अजयमेरु गाउँपालिका–२, हाटबाट सदरमुकाम छिरेका टमटाले २२ वर्षअघि देखि यहीँ पेसा अँगालेका छन।
सानोतिनो जस्ताको छानामुनि काम गर्दै आएका उनलाई केही बर्ष अगाडि नगरपालिकाले त्यो पनि भत्काइदिएपछि अहिले उनको आरन खुला आकाशमा नै रहेको छ।
नारायणका हातबाट बनेका यी पूजासामग्री र बाजागाजाको माग डडेल्धुरामै मात्र सीमित छैन। दार्चुला, बैतडी, डोटी, बझाङसम्म पनि उनको कलाको खोजी हुन्छ। अझै यो २१औँ शताब्दीमा पनि उनले कुनै मेसिन प्रयोग गर्दैनन । उनका हरेक कलाकृति हातैले बनेका हुन्छन्, जसले गर्दा ती थप मौलिक र पवित्र लाग्छन्। यही परम्परागतपन र निष्ठाले गर्दा उनका सिर्जनाहरू अझै पनि उत्तिकै लोकप्रिय छन्।
पाँच सन्तानका बाबु नारायणको जीवन भने यति सुन्दर छैन। दुई छोरा र तीन छोरीमध्ये छोरीहरूको विवाह भइसकेको छ। जेठो छोरा मानसिक रोगी छन् र परिवारका अन्य सदस्य गाउँमै छन्। नातिनातिनीहरूको पढाइ खर्चदेखि घरखर्चसम्मको बोझ उनकै थाप्लोमा छ। दिनभरि काम गरेर मुस्किलले ४-५ सय रुपैयाँ कमाइ हुन्छ, जसले यो महँगीमा परिवार पाल्न असम्भवप्रायः छ।
एक वर्षअघि उनकी श्रीमतीको निधन भएपछि नारायणको एक्लोपन झनै बढेको छ। गाउँमा जंगली बँदेलको आतंकले खेतीपाती गर्न छाडेपछि उनले सदरमुकाममा एउटा सानो कोठा भाडामा लिएका छन। उनी भन्छन"यो मेरो धर्म जस्तै हो, संस्कृति परम्पराको रक्षा गर्ने काम हो," उनका आँखामा भविष्यको चिन्तासँगै कलाप्रतिको अगाध प्रेम झल्किन्छ।
"सरकारले सानो सहयोग गरिदिएको भए, अझ धेरै काम गर्न सकिन्थ्यो।"नारायण टमटाको कथा केवल एक व्यक्तिको मात्रै कथा होइन, यो हामीले बिर्सिँदै गएको मौलिक संस्कृतिको धुन हो। जुन अहिले डडेल्धुराको महेश्वरी मोडमा, खुला आकाशमुनि, धूलो र घामसँग लड्दै आफ्नो अस्तित्व जोगाइरहेको छ।