डडेल्धुरा - डडेल्धुराको बागबजारस्थित भीमदत्त चोकमा चर्को घाम होस् या झरी, टिकेश्वरी भट्ट मकै पोल्दै ग्राहक कुरिरहेकी हुन्छिन्। भागेश्वर गाउँपालिका वडा नम्बर ४ डुङरीकी २८ वर्षीया टिकेश्वरी र उनका ३५ वर्षीय श्रीमान् ओमप्रकाश भट्टको दैनिकी विगत सात वर्षदेखि यसरी नै मकै र बदाम बेचेर गुज्रिरहेको छ।
उनीहरू डडेल्धुरा सदरमुकाममा एउटा सानो कोठा भाडामा लिएर बस्छन्। टिकेश्वरीका एक छोरा र एक छोरी छन्। छोरा कक्षा ६ मा र छोरी यूकेजीमा माउन्टेन बोर्डिङ स्कुलमा पढ्दै छन्। टिकेश्वरीको एउटै सपना छ आफ्ना छोराछोरीलाई डाक्टर पढाउने।
टिकेश्वरी र ओमप्रकाशको एकमात्र आम्दानीको स्रोत मकै र बदाम बिक्री नै हो। दैनिक ३ हजार रुपैयाँ बराबरको मकै किनेर उनीहरू ५-६ हजार रुपैयाँसम्म को बिक्री गर्छन ।
श्रीमान् ओमप्रकाशले पनि टिकेश्वरीलाई पूरै साथ दिन्छन्। चैतदेखि असोजसम्म मकै र असोजदेखि फागुनसम्म बदाम बेचेर उनीहरूले आफ्नो घर खर्च चलाउँछन्।
अफसिजनमा कैलाली, कञ्चनपुर र डोटीको जोरायलबाट मकै किन्ने उनीहरू सिजनमा भने डडेल्धुराकै अमरगढीका विभिन्न ठाउँबाट किन्ने गर्छन्।
डडेल्धुरा सदरमुकाममा कोठा भाडा, पानी र बिजुली को मात्र मासिक ३५ सय रुपैयाँ खर्च हुन्छ। सबै खर्च कटाएर टिकेश्वरीले दैनिक १ हजार रुपैयाँ बचाउने गरेको बताउँछिन्।
टिकेश्वरीको आफनो गाउँमा जग्गाजमिन छैन। पुरानो घर भत्किसकेको छ र ससुरा पनि बितिसकेका छन्। सासू मानसिक रोगी भएकाले उनी अहिले गाउँमै बस्दै आएकी छिन्। उनका गाउँका अरूको तराई तथा डडेल्धुरा सदरमुकाममा घरजग्गा भए पनि आफ्नो भने केही नभएकोमा टिकेश्वरीलाई दुःख लाग्छ।
टिकेश्वरीले गाउँमा बस्ने योजनाका साथ उखु पेल्ने मेसिन र बाख्रा पालनका लागि अनुदानका लागि गाउँपालिकामा पटकपटक अनुरोध गरिन तर कसैले सुनुवाइ नगरेको उनको गुनासो छ।
"खुल्ला आकाशमा पानी पर्दा छाता र जस्ताका पाताले छेक्छु," उनी भन्छिन्, यो भनाइले उनको संघर्षपूर्ण जीवनलाई थप प्रस्ट्याउँछ।
टिकेश्वरीको अनुहारमा घामले डढेको कालोपन र हातमा मकै पोल्दा लागेका दाग छन्। तर, उनका आँखामा भविष्यका लागि एउटा चम्किलो सपना छ। उनले आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिएर डाक्टर बनाउने लक्ष्य लिएकी छिन्।
खुला आकाशमुनि, चर्को घाम र पानीको परवाह नगरी, टिकेश्वरी आफ्नो परिवारको उज्वल भविष्यका लागि दैनिक संघर्ष गरिरहेकी छिन्। उनको यो संघर्षले डडेल्धुराको भीमदत्त चोकमा एउटा प्रेरणादायी कथा बुनिरहेको छ।